खेल

युरो २०२०: एम्बाप्पे चुक्दा फ्रान्स स्तब्ध

स्टार स्ट्राइकर किलियन एम्बाप्पे पेनाल्टी सुटआउटमा चुकेपछि विश्वविजेता फ्रान्स सोमबार स्विट्जरल्यान्डसँग टाइब्रेकरमा ५–४ ले पराजित भएको छ। यससँगै उसको युरोपियन च्याम्पियन हुने स्वर्णिम सपना पनि समाप्त भएको छ।  

अन्तिम १६ अन्तर्गत फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल निर्धारित समयमा ३–३ गोल भई बराबरीमा सकिएपछि टाइब्रेकरमा फ्रान्स स्तब्ध भएको हो। पराजित भएसँगै विश्वविजेताको युरो कप यात्रा पहिलो पटक प्री क्वार्टरफाइनलमै सकिएको हो। यसअघि विश्व च्याम्पियन भए पनि इटाली १९८४ को युरो कपमा छनोट हुन सकेको थिएन। स्टार खेलाडी एम्बाप्पेको पेनाल्टी प्रहारलाई  स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले उत्कृष्ट बचाउ गरेपछि फ्रान्सको लक्ष्यमा ठेस लागेको हो।

तीन वर्षअघि विश्वविजेता फ्रान्सका प्रशिक्षक डेडियर डेसच्याम्प्सले करिम बेन्जिमालाई राष्ट्रिय टोलीमा फर्काएर उपाधियात्रा लम्ब्याउने लक्ष्य राखे पनि त्यो रणनीति सफल हुन सकेन। यससँगै प्रशिक्षक डेसच्याम्प्समाथि हंगेरी र स्विट्जरल्यान्डजस्ता टोलीसँग एम्बाप्पेकोे फितलो प्रदर्शनका विषयमा प्रश्न उठ्ने भएको छ। यस विषयलाई धेरै गम्भीर रूपमा हेरिएको छ। ‘पराजय मलाई निकै कठिन भइरहेको छ। अगाडि बढ्ने पाइला नै चलेका छैनन्,’ एम्बाप्पेले सामाजिक सन्जालमा भनेका छन्, ‘बहिर्गमनले निकै दुखी बनाएको छ।’ तर  फ्रान्स र एम्बाप्पले भोगेको यो अवस्था भने धेरै समय रहिरहने छैन। किनभने २०२२ कतार विश्वकप पनि नजिकिँदै छ।

बुखारेस्टमा भएको गल्तीलाई नदोहोर्‍याई सुधार गर्दै अगाडि बढ्नुपर्नेछ। यसअघि २०१८ को विश्वकपमा एम्बाप्पेले सबैभन्दा कान्छा खेलाडीका रूपमा चार गोल गरेका थिए। उनै एम्बाप्पेको जादु जारी युरो कपमा चल्न सकेन। पेनाल्टीमा चुकेर फ्रान्सको युरो कप यात्रा टुंगिएपछि एम्बाप्पेले सामाजिक सन्जालमा माफी मागेका छन्। तर प्रशिक्षक डेसच्याम्प्सले भने उनको बचाउ गरेका छन्। ‘म त्यो पेनाल्टीलाई लिएर माफी चाहन्छु। म टोलीलाई सहयोग गर्न चाहन्थें, तर सफल हुन सकिनँ,’ २२ वर्षका एम्बाप्पेले भने, ‘मलाई सुत्न धेरै गाह्रो भयो। दुर्भाग्यवश यो खेलको उतारचढाव हो। जुन खेलको पाटो पनि हो।’  

विश्वकपसम्म फ्रान्सेली टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका डेसच्याम्प्सले गोल गर्न नसके पनि खेलमा राम्रो प्रभाव बनाउँदै विपक्षीलाई दबाब दिन एम्बाप्पेले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रतिक्रिया दिए। ‘एम्बाप्पेबाट धेरै अपेक्षा गरिएको थियो,’ डेसच्याम्प्सले भने, ‘खेलमा उनले गोल गर्न नसकेपछि विपक्षीलाई दबाब दिएर खेल्ने राम्रो भूमिका खेलेका थिए। उनको त्यो भूमिका टोलीका लागि निकै फाइदाजनक थियो।’

‘एम्बाप्पे अन्तिम पेनाल्टी प्रहार गरेर परिपक्व खेलाडीका रूपमा प्रमाणित हुन चाहन्थे। उनको प्रहार गोलकिपरले उत्कृष्ट बचाउ गरे, जुन निर्णायक बन्यो। तर सफल नहुँदा उनीसँग रिसाउनुको कुनै फाइदा छैन,’ प्रशिक्षक डेसच्याम्प्सले एम्बाप्पेलाई बचाउँदै भने, ‘चेन्जिङ रुममा कसैको पनि आलोचना भएको थिएन। यद्यपि एम्बाप्पेले हारको जिम्मेवारी लिएका छन्। साथै उनले आत्मआलोचना पनि गरेका छन्, तर त्यो जरुरी छैन। खेलमा यस्तो हुन्छ। यो खेलकै एक पाटो हो।’ यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा सकिएको थियो।

३–१ ले अगाडि रहेको फ्रान्स अन्तिम १० मिनेट सम्हालिन असफल रहेको थियो। अतिरिक्त समयमा पनि फ्रान्सले पाएका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा खेलको निर्णय पेनाल्टीतर्फ पुगेको थियो। फ्रान्सका सुरुआती चार खेलाडीले सबै पेनाल्टीलाई सदुपयोग गरेका थिए। पाँचौँपेनाल्टी प्रहार गर्न आएका युवा स्टार एम्बाप्पे चुक्दा फ्रान्स प्रतियोगिताबाट बाहिरिएको थियो। टाइब्रेकरमा स्विट्जरल्यान्डका सबै ५ खेलाडीले गोल गरेका थिए। स्विट्जरल्यान्डले भने युरो कपको इतिहासमा पहिलो पटक नकआउट चरणमा जित हासिल गरेको छ। स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।  

स्पेनले सोमबार अतिरिक्त समयमा विश्वकप उपविजेता क्रोएसियाको चुनौती पन्छाउँदै युरो कप २०२० क्वार्टरफाइनल यात्रा तय गरेको हो। स्पेनसँग ५–३ ले पराजित भएपछि लुका मोडरिचको टोली क्रोएसियाको युरो कप २०२० यात्रामा पूर्णविराम लागेको छ। निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलबाट स्पेनले दुई गोल थपेर ५–३ को अग्रता निकाल्दै अघिल्लो चरण प्रवेश गर्ने मौका पाएको हो। इन्जुरी समयमा क्रोएसियाका लागि मारियो पसालिचले गोल गर्दै टोलीलाई निर्धारित ९० मिनेटको खेलमा फर्काए पनि अतिरिक्त समयमा भने क्रोएसिया चुक्न पुगेको थियो। 

प्रकाशित: १६ असार २०७८ ०२:५० बुधबार

एम्बाप्पे चुक्दा फ्रान्स स्तब्ध