आर्थिक वर्ष सकिन डेढमहिना मात्रै बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न र क्रिकेट मैदानको वरिपरी तारजाली लगाउन बजेट उपभोक्ता समितिको खातामा पठाएको छ । पठाएको रकमबाट उपभोक्ता समितिले असारको दोस्रो साताभित्र पहिलो किस्ताको रकम अनुसार कामको विवरणसहित विल पेश गर्नुपर्ने छ ।
‘दुवै उपभोक्ता समितिको खातामा पैसा आईसकेको छ । दुवै समितिलाई पहिलो किस्ता वापतको पैसा आएको हो । त्यही अनुसार काम गरेर विल भरपाई पेश गर्नुपर्ने हुन्छ,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका ईन्जिनियर अनिल अधिकारीले भने, ‘परिषदसँग भएको सम्झौता अनुसार काम गर्नुपर्छ । खेलकुद समितिले पनि त्यही अनुसार विल भरपाई हेरेर कामको विवरण अनुसार फाईल केन्द्रमा पठाउँछ ।’
पार्केटिङ गर्न पोखरा बहुउद्देश्यीय कभर्ड हल इन्टरनल फिनिसिङ निर्माण उपभोक्ता समितिसँग परिषदले सम्झौता गरेको हो । परिषदले ९० लाख रुपैयाँमा पार्केटिङ गर्न जिम्मेवारी दिएको हो । पोखरा रंगशाला क्रिकेट मैदान निर्माण उपभोक्ता समितिसँगै परिषदले २५ लाख रुपैयाँमा तारजाली लगाउन सम्झौता गरेको थियो । ‘बजेट खातामा आएको छ । अब पोखराका केही ठूला काष्ठ उद्योगसँग पार्केटिङको लागि काठ उपलब्ध गराउन कोटेशन मागिने छ,’ पोखरा बहुउद्देश्यीय कभर्ड हल इन्टरनल फिनिसिङ निर्माण उपभोक्ता समितिका सचिव यामबहादुर गुरुङले भने, ‘एकदुईदिन भित्रैमा कोटेशन मागेर काम अघि बढाउँछौं । अन्यथा काम ढिलो हुन्छ ।’
कभर्डहल ७७ मिटर लम्बाई र ५० मिटर चौडाईको छ । पार्केटिङ गर्न पहिलो किस्ता वापत ३० लाख रुपैयाँमा समितिको खातामा आएको छ । क्रिकेटको भने पहिलो किस्ता स्वरुप ७ लाख रुपैयाँ समितिको खातामा आईपुगेको छ । कभर्ड हलमा १३ हजार ८ सय स्क्वायर फिटमा पार्केटिङ गरिने छ । प्राविधिक अधिकारीका अनुसार एक इन्चको मोटाई हुनुपर्ने छ । हल भने ४६ मिटर लम्बाई र २७ मिटर चौडाईको छ । त्यही हलमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता आयोजना गरिएको थियो ।
क्रिकेट मैदानमा चारफिट अग्लो तारजाली अग्लो लगाईने छ । मैदान छिर्नको लागि विभिन्न ठाँउमा ६ वटा प्रवेशद्वार राखिने छ । मैदानमा हाल ४ वटा पीच छन् । तीन वटा पीच थप्न गर्नुपर्ने छ । पीचको मध्यविन्दुबाट ७३ मिटरमा तारजाली लगाईने छ । कास्की जिल्ला क्रिकेट संघले पनि मैदान संरक्षण गर्न तारजाली नै लगाउनुपर्नेमा जोड दिदैं आएको छ । संघका अध्यक्ष सन्जयकान्त सिग्देलले मैदान संरक्षण अनिवार्य भएकोले तारजाली पहिलो प्राथमिकतामा रहेको बताए । तारजाली गरेपछि मात्रै मैदानको लेभल अनुसार माटो फिलिङ गरिने उल्लेख गरे ।
प्रकाशित: १६ जेष्ठ २०७८ ११:२२ आइतबार