खेल

विराट गोल्डकपः अफ्रिकनलाई पुनः हराउँदै संकटा सेमिफाइनलमा

विराटनगरको सहिद रंगशालामा मंगलबार राति भएको खेलमा काठमाडौंको संकटा क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

विराट गोल्डकप प्रतियोगितामा पहिलो पटक खेलको अफ्रिकन रुट्स एशोसिएसन, क्यामरुनमाथि आफ्नो जित यात्रालाई कायम गर्दै संकटाले १–० गोलमा पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको हो। शनिबार पोखरामा सम्पन्न आहा रारा गोल्डकपको फाइनलमा पराजित भएको पीडा अफ्रिकनले यहाँ मेटाउनका लागि धेरै नै प्रयास गरेको थियो। तर, अफ्रिकनले पाएको गोलका धेरै राम्रा अवसर चुक्दा थप पीडा भोग्नु पर्‍यो।  

संघर्षपूर्ण रहेको खेलमा गोल गर्दै संकटाका गणेश हमाल नायक बने। सुरुआति पहिलो हाफमा दुवै टोली आक्रमक देखिएका थिए। पोखरामा पराजित भएको अफ्रिकन टोलीलाई संकटाले दबाबमा राखेको थियो। दोस्रो हाफमा अफ्रिकन रुट्स थप आक्रमक बनेको थियो। संकटाले भारतको पंजाब पुलिस क्लबसँग बिहीबार सेमिफाइनल खेल खेल्ने छ। बलियो रक्षापंक्तिका सामु खासै गोलका अवसर संकटाले बनाउन सकेको थिएन। आक्रमक खेलको अफ्रिकनले गोलका धेरै अवसर बनाए पनि बार लाग्नु र गोलरक्षकको उत्कृष्ट बचाउ सामु केही चलेन।  

खेलको ६१ औं मिनेटमा ग्लोरीले डिबक्स क्षेत्रमा दिएको क्रस पासमा गणेश हमालले हेड गर्दै गोल गरे। सो क्रसमा चनाखो बन्दै आएका अफ्रिकन गोलकिपर डा सिभिया र उनको डिफेन्सबाट अनमार्क रहेका हमालले हेड गर्दै गोल गरेका हुन्। १३ औं मिनेटमा क्यामरुनका बासेकले बक्स क्षेत्रबाट गरेको प्रहार संकटाका गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट बचाउ गरे। ३९ औं मिनेटमा संकटाका ग्लोरीले गरेको प्रहार बाहिरियो। ८३ औं मिनेटमा डिबक्सभित्रबाट बासेलले गरेको प्रहार बल पोष्टमाथिबाट बाहिरियो। ८९ औं मिनेटमा अफ्रिकनका सि ब्याकपले डिबक्सभित्र पाएको एयर बल हेड गर्दा बल पोलमा लागेर रिबाउण्ड भएको बललाई संकटाका कप्तान रवि सिलवालले क्लियर गरे।

खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबाबु थापाले १० हजार रुपैयाँ प्राप्त गरे।  

अफ्रिकन टोलीका प्रशिक्षक सर्गेइ बोरिसले टोलीले केही राम्रा अवसर गुमाउँदा हार्नु पर्‍यो भने पोखरामा रहेका हाम्रा केही राम्रा खेलाडीको अभाव खड्कियो। हामीले पाएको अवसर सदुपयोग हुन नसक्ने र संकटाले पाएको अवसरको सही सदुपयोग गर्दा गोल गर्न सक्यो। त्यस्तै संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीले उच्च मनोबलका साथ खेल्दा जित निस्किएको हो। अफ्रिकन खेलाडी शारीरिक र मानसिक रूपमा बलियो रहेको बताएका खड्गीले भने, 'केही दिनअघिको जितेले पनि खेलाडीलाई थप आत्माबल दिएको हो।'

प्रकाशित: १ वैशाख २०७८ ०८:३० बुधबार

विराट गोल्डकप संकटा सेमिफाइनलमा