खेल

फुटसलको उपाधि यतिएफसीको पोल्टामा

भक्तपुरमा भएको पहिलो केएफटीसी नकआउट फुटसल प्रतियोगिताको उपाधि यतिएफसी ललितपुरको पोल्टामा परेको छ। ख्वप फुटसल एण्ड ट्रेनिंग सेन्टर (केएफटीसी) को आयोजनमा भएको प्रतियोगितामा टिमयूआरएफसी भक्तपुर दोश्रो हुन सफल भएको छ। भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी भएको प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरलगायतबाट गरी करिव ३८ वटा टिमहरुको सहभागिता रहेको आयोजकले जनाएको छ।  

प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई फुटवलका पूर्व राष्टिय खेलाडी बाबुकाजी धौबञ्जारले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। प्रतियोगितामा पहिलो हुन सफल टिमले २० हजार नगदसहित मेडल, ट्रफी तथा प्रमाणपत्र र दोश्रो हुने टिमले १० हजार नगदसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे। साथै वेष्ट प्लेयरमा सुजल लिम्वू, वेष्ट किपरमा अजय बासुकला र फेयर प्ले टिममा भक्तपुर विलायट क्लव घोषित भए। उनीहरुलाई मायाको चिन्हो तथा प्रमाणपत्र प्रदान गरिएको थियो।  

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न गठित समितिका संयोजक इन्देश अवालले कोभिडबाट सुरक्षित राख्नका लागि आयोजकले सहभागीहरुलाई माक्ससमेत वितरण गरेको जनाए। साथै सहभागी दर्शकहरुलाईसमेत मास्क अनिवार्य गरेको उनले बताए।  

यसअघि पनि ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टरले भक्तपुरमा विभिन्न फुटसल टुर्नामेन्ट गरिआएकोमा केएफटीसी नकआउट फुटसल टुर्नामेन्ट भएको यो पहिलो हो। कोरोनासँंगै असामान्य भएको जनजीवनलाई समान्य बनाई नागरिकलाई स्वास्थ्य राख्न सहयोग गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको जनाइएको छ। प्रतियोगिता भक्तपुरको सूर्यविनायक सुन्दरवस्तीस्थित ख्वप फुटसल एण्ड टे«निग सेन्टरमा भएको हो।  

ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टरले जुनियर टिम अन्तर्गत अन्डर १५ लाई फुटसल तालिम पनि दिंदै आएको छ। आमागी दिनमा ख्वप फुटसल एण्ड ट्रेनिग सेन्टरले भक्तपुर जिल्ला फुटवल संघसँंग समन्वय गरी स्कुलस्कुलका विद्यार्थीलाई फुटसल तालिम दिने योजना रहेको कोच विकेश सुवालले बताए।

प्रकाशित: १५ चैत्र २०७७ १३:५२ आइतबार

फुटसलको उपाधि यतिएफसी