खेल

मेयरकप फुटबल उपाधि कटारी ३ लाई

उपाधि विजेता टोली ट्रफि उचाल्दै मेयर र प्रवक्ता राईसँग । तस्बिरः महेश्वर

उदयपुरको कटारीमा सम्पन्न ‘तेस्रो मेयरकप फुटबल प्रतियोगिता ०७७’को उपाधि कटारी ३ ले सुरक्षित गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको फाईनल खेलमा गतवर्षकै बिजेता  कटारी ३ ले कटारी ५ लाई १–० सहज गोल अन्तरले पराजित गर्दै उपाधि कायम राखेको हो ।  

अत्यन्त रोमान्चक र प्रतिस्पधात्मक भएको फाईनल खेलमा कटारी ३ का प्रशील कार्कीले मध्यान्तरपछि गरेको सुन्दर हेड गर्दै भएको गोल नै टिमलाई विजयी बनाउन निर्णायक भूमिका खेलेको थियो । उनको जवाफी गोल फर्काउन नसक्दा कटारी ५ उपविजेतामै सीमित हुनुपर्‍यो ।  

विजेताले उपाधिसँगै लाभकर कटाएर नगद ७६ हजार २ सय ५० रुपैंया, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कटारी ५ लाई लाभकर कटाएर नगद ३८ हजार ७ सय ५०, मेडल, कप र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि कटारी ५ का सागर राई घोषित भए भने उदीयमान खेलाडी कटारी ३ सुरन धामी भए ।  

त्यस्तै उत्कृष्ट डिफेन्डर कटारी ३ का गोपाल लिम्बु हुँदा सर्वोत्कृष्ट गोलकर्ताको उपाधि कटारी ३ का प्रताप राईले पाए । फाईनल खेलको म्यान अफ द म्याच कटारी ३ कै प्रशील कार्की तथा उत्कृष्ट  गोलरक्षक कटारी ३ कै रोशन राना घोषित भएका थिए । विधागत उपाधि पाउने सबै खेलाडीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो ।  

स्थानीय साथी समूह कटारीको आयोजना र नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको शुक्रबारै आयोजित समापन समारोहमा कटारी नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राई र नगर उपप्रमुख भीमकुमारी राउतलले ट्रफि, नगद र प्रमाणपत्रसहित पुरस्कार बितरण गरे ।  

पुरस्कार वितरण गर्दे मेयर श्रेष्ठले खेलकुद क्षेत्रमा कटारी नगरपालिका र आफु सँधै सकारात्मक भएर लाग्दै आएको बताए । उनले खेलकुद क्षेत्रमा अन्र्तराष्ट्रियस्रतमा नाम कमाईसकेका फुटबलका राष्ट्रिय खेलाडी हीरा भुजेल र कराँतेकी अनुपमा मगरजस्ता कटारी नगरका खेलाडीलाई नगरको सदभावना दुत नियुक्त गर्ने घोषणा गरे । उनले कटारीमा खेलकुदका लागि आवश्यक भौतिक संरचना निर्माण गर्दै गएको र अझ गर्दै जाने प्रतिबद्धता पनि मेयर श्रेष्ठले जनाए । कटारीको खेलमैदान रहदै आउको स्थानीय टाईगर फिल्डलाई भूमाफियाबाट बचाएकोमा खेलाडी दिपक राईजस्ता कटारीका युवाहरुलाई मेयर श्रेष्ठले धन्यवाद दिएका थिए ।

एन्फा प्रवक्ता किरण राई र उपमेयर भीमकुमारी राउतलगायत वक्ताहरुले खेलकुद क्षेत्र युवाहरुका लागि अनिवार्य भएको भन्दै यसमा नगरपालिका, प्रदेश र संघीय तीनै तहका सरकारले प्राथमिक्ताका साथ बजेट छुट्याएर खेलकुदका गतिबिधि गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए । कटारी नगरपालिका जिल्लाकै फुटबल खेका लागि उर्बर भूमि सावित हुँदै आएको भन्दै त्यसै उपज राष्ट्रियस्तरका खेलाडीको जन्म भइसकको र आगामी दिनमा पनि थुप्रै खेलाडी जन्मने अपेक्षा गरिएको उनीहरुको भनाई थियो ।  

कटारी नगरपालिकाका १४ मध्ये १३ वडाबाट सहभागिता रहेको प्रतियोगिता कटारीको पुरानो बसपार्कस्थित टाईगर खेलमैदानमा सम्पन्न भएको थियो ।

प्रकाशित: १४ चैत्र २०७७ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App