खेल

धरान ओपन गल्फ: भुवनको अग्रता कायमै

भुवन नगरकोटीले धरान ओपन गल्फमा बिहीबार १ अन्डर ६९ स्कोर गर्दै अग्रता कायमै राखेका छन्। पार ७० को गल्फ कोर्समा दोस्रो दिनको खेल सकिँदा भुवनले कुल चार अन्डर १ सय ३६ स्कोर बटुल्दै एकल अग्रता लिएका हुन्। 

पहिलो दिन भने उनी र स्थानीय गल्फर नीरज तामाङ समान तीन अन्डर ६७ स्कोरका साथ संयुक्त रूपमा अग्रस्थानमा थिए। घरेलु कोर्समा नीरज र शुक्रबहादुर राई एक स्ट्रोकले पछि पर्दा समान कुल तीन अन्डर १ सय ३७ स्कोरको कार्ड बनाउन सफल भए। पहिलो र तेस्रो होलमा बर्डी गर्दै स्ट्रोक जोगाएका भुवनले चौथो होलमा बोगी सामना गर्दा फ्रन्ट नाइनमा १ अन्डर ३५ को कार्ड बनाए। उनी ब्याक नाइनमा लेभल पार ३४ रहे।

 त्यस क्रममा भुवनले १३औं होलमा बर्डी गरे पनि १५औं होलमा बुगी खेपे। दोस्रो दिन एक अन्डर ६९ स्कोर खेलेका सञ्जय लामा कुल एक ओभर १ सय ४१ स्कोरका साथ चौथो स्थानमा छन्। कुल २ ओभर १ सय ४२ स्कोरका साथ रामे मगर र बलभद्र राई (मणि) संयुक्त रूपमा पाँचौँ स्थानमा छन्। 

एमेच्योरतर्फ कुल तीन ओभर १ सय ४३ स्कोरका साथ युवराज भुजेल अग्रस्थानमा छन्। कुल पाँच ओभर १ सय ४५ स्कोरका साथ जितेन्द्र राई एमेच्योरतर्फ दोस्रो स्थानमा छन्। प्रतियोगितामा दोस्रो दिन ३६ होलको खेल सकिँदा २१औं स्थानसम्मका खेलाडी मात्र कटआउट हुनबाट जोगिएका छन्।

प्रकाशित: १३ चैत्र २०७७ ०४:४२ शुक्रबार

धरान ओपन गल्फ भुवनको अग्रता कायमै