भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘बी’को खेलमा बुटवल राइनोजले शंकरनगर क्रिकेट क्लबलाई पारजित गर्दै डिभिजन ए मा प्रवेश गरेको छ । बुटवल राइनोजले संकरनगरलाइ २ विकेटले पारजित गर्दै डिभिजन ‘ए’ मा प्रवेश गरेको हो ।
सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएको थियो । उसका लागि विराट भण्डारीले ५२ र कृष्ण सेनले २३ रन बनाए । बलिङमा बुटवलका राहुल साहनीले १० ओभरमा १ मेर्डन राख्दै ३६ रन खर्चेर ४ विकेट लिए । अब्दुल नसिम, ईश्वर खनाल र संदीप बश्यालले समान २÷२ विकेट लिए ।
जवाफी ब्याटिङमा बुटवलले ४० ओभरमा ८ विकेटको क्षतिमा १५४ रन बनाउँदै लक्ष्य भेट्टायो । बुटवलक सन्जु बोहराले २३, राहुल साहनीले २२ र मंजीर भुसालले नटआउट १८ रनको योगदान दिए । बलिङमा शंकरनगरका अखलेस यादवले ३, अमित तामाङ र कृष्ण सेनले समान २÷२ विकेट लिए । राहुल साहनी म्यान अफ द म्याच भई पुरस्कृत भए ।
बिहीबार तिलोत्तमा क्रिकेट क्लब र साई ग्लोबल क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए । प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगीतालाइ नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ ।
प्रकाशित: ५ फाल्गुन २०७७ १२:०७ बुधबार