खेल

फागुन पहिलो साता बक्स क्रिकेट

बक्स क्रिकेटबारे जानकारी दिन आयोजित पत्रकार भेघाट । तस्बिर ः सन्देश÷नागरिक

पोखरामा बक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । माछापुच्छ«े क्रिकेट एकेडेमीको आयोजनामा फागुनको १ देखि ४ गतेसम्म पोखराको लेखनाथमा बक्स क्रिकेट प्रतियोगिता हुने भएको हो ।  

तालचोकस्थित लेखनाथ महोत्सव स्थलमा हुने प्रतियोगिता नेपालकै पहिलो बक्स क्रिकेट प्रतियोगिता भएको विहीबार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यसअघी ओपन क्रिकेट हुँदै आएपनि बक्स क्रिकेट प्रतियोगिता नेपालकै पहिलो भएको आयोजकले दाबी गरेको हो ।

प्रतियोगिता ७ ओभरको हुने आयोजकले बताएको छ । सेभेन ए साईड क्रिकेट पनि भनिने यस प्रतियोगितामा ७ जनाको प्लेइङ सेट हुनेछ भने २ जना अतिरिक्त खेलाडी रहने आयोजकले बताएको छ । यस प्रतियोगितामा अन्य प्रतियोगितामा जसरी छक्कालाई मान्यता दिईदैन । छक्कालाई आउट मानेर खेल खेलाइने आयोजक माछापुच्छ«े क्रिकेट एकेडेमीका निर्देशक अरुण पौडेलले जानकारी दिए । खेलमा हार्डबल नभई सफ्ट बल (टेनिस बल) प्रयोग गरिने उनले बताए ।

नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एकेडेमीका ब्राण्ड एम्बासेडर दीपेश खत्रीले बताए । नेपालमा स्किलफुल खेलाडी कम भएकाले त्यस्तो खेलाडी जन्माउनका लागि प्रतियोगिता महत्वपूर्ण हुने उनको भनाई छ । ‘छक्कालाई मान्यता नदिने भएकाले ग्राउण्ड सट खेल्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसो हुँदा खेलाडीले ग्राउण्ड सटको नयाँ नयाँ टेक्निक सिक्न र प्रयोग गर्ने कोशिष गर्छ ।’  

नेपालमा ग्राउण्ड सट प्रहार गर्ने खेलाडी एकदमै कम भएकाले त्यस्ता खेलाडी उत्पादनमा प्रतियोगिता सहयोगी बन्ने उनको भनाई छ । प्रतियोगितामा १५ बढी टीम हुने आयोजकले दाबी गरेको छ । हालसम्म १० भन्दा बढी टीमले नाम दर्ता गरिसकेको एकेडेमीका निर्देशक पौडेलले बताए ।

खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष एकराज गिरीले प्रतियोगिताले लेखनाथको खेलकुदलाई माथि उठाउने विश्वास व्यक्त गरे । ‘हिजो आदर्श कप हुन्थ्यो,’ उनले भने, ‘अहिले उक्त प्रतियोगिता नहुँदा लेखनाथमा खेलकुद ठप्प प्रायः छ, अब यो प्रतियोगिताले लेखनाथको खेलकुद र क्रिकेटलाई माथि उठाउने अपेक्षा गरेका छौं ।’

प्रतियोगिताको बिजेतालाई नगद ३२ हजार र उपबिजेतालाई १६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट व्याट्सम्यानलाई नगद ५–५ हजार रुपैयाँ प्रदान गरिने एकेडेमीका निर्देशक पौडेलले जानकारी दिए ।

प्रकाशित: २२ माघ २०७७ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App