खेल

सन्दीपले बिगबास लिगमा शनिबार पहिलो खेल खेल्दै

बिगबास लिगमा शनिबार होबार्ट हरिकेन्सका तर्फबाट आफ्नो पहिलो खेल खेल्न लागेका सन्दीप लामिछाने अभ्यासका क्रममा। तस्वीर : होबार्ट हरिकेन्सको ट्विटरबाट

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिगबास लिगमा यस सिजनको पहिलो खेल शनिबार खेल्ने भएका छन्। चौध दिनको क्वारेन्टाइन सकिएपछि उनले पहिलो खेल आफ्नै पुरानो क्लब मेलबर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन्।  

सन्दीपले मेलबर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए। होबार्ट हुरिकेन्समा आबद्ध सन्दीपले कोरोना संक्रमणका कारण यस सिजनको सुरुआतका ६ खेल गुमाएका थिए। 

नेपालमै छँदै कोरोनाबाट संक्रमित भएका कारण सन्दीपलाई बिगबास लिग खेल्नका लागि अस्ट्रेलिया जान ढिला भएको थियो। अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएकाले उनले सुरुका ६ खेल खेल्न नपाएको शिवाकोटीले बताए। सन्दीप बुधबार क्वारेन्टाइनमुक्त भएका हुन्। उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ। हालसम्म खेलेका छ खेलमध्ये चारमा जित तथा दुईमा हार बेहोरेको होबार्ट आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा छ।

बिगबास खेल्न लामिछाने मंसिर ३० गते अस्ट्रेलिया गएका हुन्। क्वारेन्टाइन अवधि सकिएपछि उनी नियमित अभ्यासमा जुटेको व्यवस्थापक शिवाकोटीले बताए। सन्दीपले खेल्ने शनिबारको खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुने बताइएको छ। उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेका हुन्। सन्दीपले यसअघि दुई सिजनको बिगबास मेलबर्न स्टार्सबाट खेलेका थिए। ती दुई सिजनमा उनले कुल २० खेल खेल्दै २६ विकेट लिएका थिए।

प्रकाशित: १७ पुस २०७७ १०:०९ शुक्रबार

सन्दीप लामिछाने बिगबास लिग