खेल

कास्की टीम च्याम्पियन

सुवास भण्डारी म्यान अफ दि सिरिज

टिम च्याम्पियन कास्की उपाधिसहित । तस्बिरः नागरिक

नवलपुरलाई ८६ रनले पराजित गर्दै कास्की गण्डकी प्रादेशिक क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । अनुभवी खेलाडी दीपेश खत्री, कप्तान विपिन क्षत्री र सुवास भण्डारीले उत्कृष्ट बलिङ गरेपछि नवलपुर ३१ ओभरमा सबै विकेट गुमाउने क्रममा ११५ रनमा समेटिएको थियो । ८ ओभरमा ५२ रन बनाएर उत्कृष्ट शुरुवात गरेको नवलपुर राहुल शर्माको विकेट पतन भएपछि धरासायी बन्न पुग्यो । कमल परियार र सन्देश बस्नेतले विकेट जोगाउँदै रन जोड्दै अघि बढेपनि कास्कीका स्पीनरको बलमा विकेट झरेपछि पभेलियन फर्किए ।  

राहुल शर्माले ३९ बल खेल्दै ३२ रन बनाउँदै जीतको सम्भावना देखाएका थिए । ४० ओभर भित्रै जीत निकालेको अवस्थामा च्याम्पियन बन्ने नेटरनरेटको आँकडा थियो । तर नवलपुरले एकपछि अर्को गरी विकेट गुमाउन पुग्यो । शर्माले ५ चौका र १ छक्का हिर्काउँदै गतिलो शुरुवात दिलाए । सन्देश बस्नेतले ४९ बलमा अविजिति रहने क्रममा २९ रन बनाए । उनले ३ चौका हिर्काए । कमल परियारले २७ बलमा १६ रन बनाउँदा २ चौका र १ छक्का स्कोरकार्डमा चढाएका थिए । कास्कीका बलर दीपेश खत्रीले ६ ओभरमा १ मेडन राख्लै केवल ८ रन दिएर ३ विकेट लिए । कप्तान विपिन क्षत्रीले ८ ओभरमा २९ रन खर्चिएर ३ विकेट लिँदा सुवास भण्डारीले ७ ओभरमा २ मेडन राख्दै १४ रन दिएर २ विकेट लिए ।  

बुधबार टस जितेर व्याटिङको निम्तो दिएको कास्कीले २०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कमजोर शुरुआतलाई ओपनर एवं युवा खेलाडी अर्जुन कुमालले इनिङ सम्हालेपछि कास्कीले नवलपुरलाई २०२ रनको चुनौति दिएको थियो । १५ ओभरको समाप्तीमा ५१÷४ को स्थितिमा रहेको कास्कीलाई अर्जुन कुमालले छैठौं नम्बरमा अएका सुवास भण्डारीसँग ६८ रनको साझेदारी गर्दै योगफल उकासेका थिए । भण्डारी व्यक्तिगत ३४ रनमा आउट भएपछि कप्तान विपिन क्षत्री क्रिज छिरेका थिए । भण्डारीले ७५ बल खेल्दै ३ चौका र १ छक्का हिर्काए ।  

म्यान अफ दि सिरिज सुवास भण्डारी

नवलपुरको बलरले कास्कीका व्याट्सम्यानलाई खासै रन दिएनन् । कास्कीले ९ रन जोड्न ६० बल (१० ओभर) खेल्न पुग्यो । विकेट जोगाँउदै सम्हालिने प्रयास गरेको कास्कीले ६० रन बनाउन २५ ओभर पुरा खेल्यो । कुमालले खत्रीसँग छैठौं विकेटको लागि ४६ रनको साझेदारी गरेका थिए । ४६.३ ओभरमा कुमाल कप्तान खत्रीकै कारण रन आउट हुदैं पभेलियन फर्किएपछि दुबैको साझेदारी टुटेको थियो । फिल्डरको हातमा बल पुगेको अवस्थामा कप्तान खत्रीले आफैंले स्ट्राई लिने धुनमा कुमाललाई रन आउटको शिकार बनाए । रनआउट हुनु अघि कुमाल ७७ रनमा थिए । शतक पुरा गर्ने धुनमा रहेका कुमाललाई रनआउट आफ्नै कप्तानले रनआउट बनाएपछि निराश हुदैं पभेलियन फर्किएका थिए । कुमाललाई सन्देश बस्नेतले रनआउट बनाएका थिए ।  

१२७ बल खेल्दै प्रतियोगिताकै सर्वाधिक १० चौका (एकै खेलमा) हिर्काउँदै कुमाल एकै खेलमा ७७ रन हिर्काउने पहिलो व्याट्सम्यान समेत हुन् । कुमाल नेपाली यु–१६ राष्ट्रिय टोली महत्वपूर्ण व्याट्सम्यान समेत हुन् । खत्रीले २३ बलमा एक चौका र दुई छक्कासहित ३० रन बनाई आउट भए । हतारिएर व्याटिङ गर्ने धुनमा आउट भएपछि आएका अमृत गुरुङले १८ रनमा अविजित रहे । उनले १३ बलमा १ चौका र १ छक्का हिर्काएका थिए । नवलपुरका विशाल पौडेलले १० ओभरमा ३ मेडन राख्दै २ विकेट लिएका थिए । विशाल पौडेलले ३ राख्दै १९ रन दिएर २ विकेट लिँदा राहुल शर्माले भने १० ओभरमा ६ मेडन राख्दै केवल ८ रन मात्रै दिए । तर उनले विकेट भने लिन सकेनन् ।  

गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा भईरहेको छनोट प्रतियोगितामा म्यान अफ दि सिरिज सुवास भण्डारी घोषित भए । अर्जुन कुमाल बेष्ट व्याट्सम्यान र बेष्ट बलर सुवास भण्डारी घोषित भए । छनोटमा कास्की, तनहुँ, स्याङजा र नवलपुर जिल्ला सहभागि थिए ।

प्रकाशित: ८ पुस २०७७ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App