नेपालका प्रशिक्षक बालगोपाल महर्जनले छोटो समयको तयारीका बावजुद पनि खेलाडीले क्रमिक रूपमा सुधारिएको प्रदर्शन गरेको भन्दै शुक्रबार बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा मैदान उत्रँदा सुखद नतिजा ल्याउनेमा विश्वस्त रहेको बताएका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोली गत साता बंगलादेश फुटबल संघको निमन्त्रणमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि त्यसतर्फ प्रस्थान गरेको थियो । महर्जनले नेपालमा पनि एक साताको मात्र प्रशिक्षण गरे पनि खेलाडीहरूले स्वाभाविक प्रदर्शन गर्नेमा आशावादी रहेको बताएका हुन् ।
‘हामी करिब ९ महिनापछि मैदान फर्कंदै छाैं,’ महर्जनले भने, ‘कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण हामी लामो समयदेखि मैदानबाहिर रहेका थियौं । बंगलादेश फुटबल संघ र बंगलादेश सरकारलाई यो अवसरका लागि धन्यवाद दिन चाहन्छु । यसलाई हामीले अवसरको रूपमा लिएका छांै । हामीले नेपालमा प्रशिक्षण गर्दा ४ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो भने बंगलादेश आएपछि पनि एक खेलाडीमा कोरोना पुष्टि भएको छ । यसले हामीलाई चुनौती थपेको छ ।’
‘टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलन मिलेको छ,’ महर्जनले थपे, ‘टोलीले छोटो समयको अभ्यास गरेको छ । नयाँ खेलाडीहरूले उनीहरूलाई दिइएको अवसर प्रमाणित गर्नेछन् । यो हाम्रा लागि विश्वकप छनोट चरणको अभ्यास अवसरसमेत हो । त्यसैले हामी नतिजाभन्दा पनि टोलीले कस्तो प्रदर्शन गर्छ र टोलीमा कुन पक्ष सुधार गर्नुपर्छ भन्नेमा केन्द्रित छाैं ।’
कतार विश्वकप छनोट २०२२ अन्तर्गत एसियाली छनोटको समूह ‘बी’ मा रहेको नेपालले चाइनिज ताइपेई , अस्ट्रेलिया र जोर्डन गरी तीन होम म्याच खेल्न बाँकी छ । यसअघि मार्चमा विश्वकप छनोटको खेल तालिका तय भए पनि कोरोना भाइरस महामारीका कारण सो खेल स्थगित भएको थियो । पुनः अक्टोबरका लागि छनोट खेलको तालिका सार्वजनिक भए पनि अन्तिम समयमा मात्र सो खेल पनि स्थगित भएको थियो । एएफसीले बुधबार विश्वकप छनोटको नयाँ तालिका सार्वजनिक गरिसकेको छ । जसअन्तर्गत छनोट चरणका बाँकी रहेका खेलहरू २०२१ जुन १५ सम्म सकिने जनाएको छ ।
नेपालले शुक्रबार पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ भने मंसिर ३ मा दोस्रो खेल खेल्नेछ ।
त्यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङले लामो समयपछि मैदान फर्कन पाउँदा निकै उत्साही भएको बतउँदै यो अवसरका लागि बंगलादेश फुटबल संघलाई विशेष धन्यवाद दिएका छन् ।
यता बंगलादेशका प्रशिक्षक जेमी डेले नेपाल राम्रो टोली रहेको र उनीहरूविरुद्ध खेल्नु सधैं कठिन रहने बताए ।
प्रकाशित: २८ कार्तिक २०७७ ०३:५० शुक्रबार