खेल

अम्पायरको निर्णयविरुद्ध पन्जाबको उजुरी

क्रिस जाेर्डनलाई सर्ट रन दिएको क्षण। तस्बिर: एजेन्सी

इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार अम्पायरको गल्ती देखिएको खेलमा दिल्ली क्यापिटल्ससँग साँघुरो हारबाट स्तब्ध किङ्स इलेभेन पन्जाबले त्रुटिविरुद्ध औपचारिक उजुरी दिएको छ।

विश्व क्रिकेटको सर्वाधिक धनि ट्वान्टी–२० लिग आइपिएलको दोस्रो खेलमा दिल्लीसँग सुपर ओभरमार्पmत पराजित भएको पन्जाबले सोमबार उजुरी दिएको हो। अम्पायरकै गल्तीका कारण खेल टाई भएको थियो र सुपर ओभर पनि पन्जाबले हार बेहोरेको थियो। १९औं ओभरमा पन्जाबका क्रिस जोर्डनले रनिङ बिटविन द विकेट (रन बटुल्न) लिने क्रममा ब्याटले क्रिजभित्र नछोएको भन्दै लेग स्क्वायर अम्पायर (अनफिल्ड अम्पायर) नितिन मेननले दुईमध्ये एक रन काउन्ट गरेका थिएनन्, तर टिभी रिप्लेमा जोर्डनको ब्याट क्रिजभित्र छोएको स्पष्ट देखिएको थियो।

अनफिल्ड अम्पायरको निर्णयबिना थर्ड अम्पायरसँग उनको निर्णय परिवर्तन गर्ने अधिकार हुँदैन र त्यसको कारण पनि उक्त घटना रिभ्युमा पुगेन। ‘जुन कुरालाई प्रविधिको माध्यमबाट सुधार गर्न सकिन्थ्यो त्यो भएन। त्यसैले हामी अपिलमा गएका हौं,’ किङ्स इलेभेन पन्जाबका अफिसियलले भने, ‘त्यो निर्णयले प्रतियोगितामा नै हाम्रो नतिजामा ठूलो असर पर्नेछ। जब दुई टोलीबीच निकै कडा प्रतिस्पर्धा भएको थियो, त्यो समय त्यस किसिमको निर्णय हुनु जायज होइन।’ खेलपछि मैदानमा भएका निर्णयलाई परिवर्तन गर्न पाउने कुनै पनि प्रावधान छैन।

अम्पायरकै गल्तीका कारण खेल टाई भएको थियो र सुपर ओभर पनि पन्जाबले हार बेहोरेको थियो।

सुपर ओभरमा दक्षिण अफ्रिकाका बलर कागिसो रबाडाले उत्कृष्ट बलिङ गर्दै पन्जाबलाई दुई रन मात्र बटुल्न दिएका थिए। उक्त लक्ष्य दिल्लीले तीन बलमै पूरा गर्दै पहिलो जित दर्ता ग-यो। भारतीय क्रिकेटका पूर्वओपनर वीरेन्द्र सेहवागले सामाजिक सञ्जालमा सर्ट रन निर्णयबारे विरोध जनाएका छन्। ‘म म्यान अफ दी म्याच निर्णयप्रति सहमत छैन। जुन अम्पायरले सर्ट रनको निर्णय दिएका थिए, उनी नै म्यान अफ दी म्याच हुनुपर्दथ्यो,’ सेहवागले भनेका छन्।

कमेन्टेटर आकाश चोप्राले पनि प्रविधिको प्रयोग गरिनुपर्ने अवस्थामा हुन नसकेको बताउँदै पन्जाब दुई अंकले नै फाइनलमा पुग्न नसके के गर्ने भन्दै प्रश्न गरेका छन्। १ सय ५८ रनको लक्ष्य पछ्याएको पन्जाबले पूरै २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। पन्जाबलाई अन्तिम ६ बलमा १३ रन आवश्यक परेको थियो। मयंक अग्रवालले मार्कस स्टोइनिसलाई पहिलो बलमै छक्का प्रहार गर्दै सहज जितको आशा देखाए। दोस्रो बलमा दुई र तेस्रो बलमा चौका प्रहार गरेपछि नतिजा पन्जाबको पक्षमा जाने देखिएको थियो।

तर, अन्तिम तीन बलमा पन्जाबलाई एक रन मात्र चाहिएको थियो। तर, स्टोइनिसले चौथो बल डट गराउँदा पाँचौं बलमा अग्रवाललाई सिमरन हेटमायरबाट क्याच आउट गराए। स्टोइनिसले अन्तिम बलमा क्रिस जोर्डनलाई कागिसो रबाडाबाट क्याच आउट गराएपछि खेल टाई हुँदै सुपर ओभरमा पुगेको थियो। ओपनर मयंकले उत्कृष्ट ब्याटिङ गर्दै ६० बलमा ८९ रन बनाए पनि पन्जाबलाई जित दिलाउन सकेनन्। खेलका म्यान अफ दी म्याच स्टोइनिसले २१ बलमा ५३ रन बनाउँदै कमजोर ब्याटिङ गरेको दिल्लीलाई जितको आशा जगाएका थिए। 

प्रकाशित: ६ आश्विन २०७७ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App