खेल

फाती र गार्सिया पहिलो पटक स्पेनी टोलीमा

युवा स्टार अन्सु फाती र इरिक गार्सिया पहिलो पटक स्पेनिस फुटबलको सिनियर टोलीमा समावेश भएका छन्।  

बार्सिलोनाका फाती र म्यानचेस्टर सिटीका गार्सिया आगामी सेप्टेम्बरमा जर्मनी र युक्रेनसँग हुने युइएफए नेसन्स लिगका लागि लुइज इनरिकेको स्पेनी टोलीमा परेका हुन्। स्पेनले नेसन्स लिगअन्तर्गत आगामी सेप्टेम्बर ३ मा जर्मनीसँग स्टुगार्ट र सेप्टेम्बर ६ मा युक्रेनसँग घरेलु मैदान मड्रिडमा खेल्दै छ। त्यसका लागि इनरिकेले बिहीबार २३ सदस्यीय स्पेनिस टोली सार्वजनिक गर्दा आठ नयाँ खेलाडी परेका छन्। ठूलो मूल्यमा सिटीमा आबद्ध भएका फेरान टोरेस र वुल्भ्स विंगर एडमा ट्राओरे पनि स्पेनिस टोलीमा समावेश भएका छन्।  

मालीमा आमाबाबु रहेका २४ वर्षे ट्राओरे इनरिकेको टोलीमा समावेश भएसँगै स्पेनको अन्तर्राष्ट्रिय फुटबलमा उनको भविष्य राम्रो हुने विश्वास गरिएको छ। यदि जर्मनी र युक्रेनसँगको खेलमा अवसर पाए ट्राओरेले मालीका लागि पनि नयाँ रूपरेखा कोर्न सक्नेछन्। स्पेनिस टोलीमा बार्सिलोनाकै स्टार सर्जियो बुस्केटसहित आगामी  च्याम्पियन्स लिगका लागि तयारी गरिरहेका बायर्न म्युनिखका मिडफिल्डर थियागो एलकान्टारा पनि परेका छन्। १७ वर्षे फातीलाई पनि स्पेनिस फुटबलको राम्रो खेलाडीका रूपमा हेरिएको छ। 

१६ वर्षकै उमेरमा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका फातीलाई इनरिकेले अवसर दिएका छन्। उनी स्पेनको यु–२१ टोलीमा पनि परिसकेका छन्। सिटीका डिफेन्डर गार्सियाले पनि स्पेनिस टोलीमा स्थान सुरक्षित गर्न सक्ने आकलन गरिएको छ। प्रतिभावान् युवा स्टार अनुभवी खेलाडीसहित इनरिकेको टोलीले जर्मनी र युक्रेनविरुद्ध कडा चुनौती दिनसक्नेछ। इनरिकेको डिफेन्समा अनुभवी सर्जियो रामोस, जिसस नाभास, ड्यानी कार्भाहल र पाउ टोरेसजस्ता खेलाडी छन्। सोही डिफेन्समा डिएगो लोरेन्ट, सर्जियो रेग्विलन र जोसे गायाले अवसर पाएका छन्।  

गोलपोस्टमा इङ्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका डेविड डी हेया र किपा एरिजाबालागासहित उनाई सिमोन समावेश छन्। मिडफिल्डमा फाबियन रुइज, थियागो, सर्जियो बुस्केट, रोड्री, मिकेल मेरिनो, ड्यानी ओल्मो र ओस्कार रोड्रिग्वेज र अग्रपंक्तिमा रोड्रिगो, ओयारजाबाल, ट्राओरे, मार्को एसेन्सियो, फाती र फेरान टोरेस छन्। 

प्रकाशित: ५ भाद्र २०७७ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App