खेल

नयाँ ऐनले राजीनामाको लहर

नेपालमा राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ कार्यान्वयनमा आएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेल संघबाट राजीनामा बुझाउनेको संख्या बढेको छ।  

राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ जारी भएसँगै नेपाली खेलकुदमा सरकारी प्रशिक्षक या संघबाट राजीनामा दिने क्रम बढेको हो। नयाँ ऐनअनुसार राखेपका कर्मचारीले कुनै पनि संघमा बस्न नपाउने प्रावधान भएकाले अधिकांशले संघबाट राजीनामा दिइरहेका छन्। हालसम्म करिब ६० भन्दा बढी कर्मचारी संघबाट राजीनामा दिइसकेका छन् भने केहीले भने सरकारी सेवासुविधा नै त्यागेका छन्। तेक्वान्दोका दीपक विष्ट र संगीना वैद्यले पनि बुधबार आफू आबद्ध संघबाट राजीनामा दिएका छन्। बुधबार नै नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले भने राखेपको प्रशिक्षकबाट राजीनामा दिए।  

दीपकले नेपाल तेक्वान्दो संघका सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजीनामा दिएका हुन्। दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रूपमा कार्यरत छन्। छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपालका दुई  खेलाडी दीपक र संगीना हुन्। यता, सिंहले भने राखेपअन्तर्गत नै फुटबल सहायक प्रशिक्षकबाट राजीनामा दिए। तीनैले सम्बन्धित संघमा राजीनामा बुझाएको र त्यसको बोधार्थ राखेपलाई दिएका छन्।

सरकारी सेवा नै छाडेर संघ रोज्नेमध्ये ब्याडमिन्टका उपमहासचिव लवभक्त श्रेष्ठ र फुटबलका उपेन्द्रमान सिंह देखिएका छन्। लवभक्त श्रेष्ठ राखेपअन्तर्गत सामान्य प्रशासन शाखा प्रमुख थिए। सिंह भने अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष पदमा छन्। नेपाली राष्ट्रिय भलिबल टोलीका जगदीश भट्ट र टेबलटेनिसकी सन्ध्या शाक्यले पनि राजीनामा दिइसकेका छन्। यो ऐन कार्यान्वयनसँगै राखेपबाट करिब दुई सयभन्दा बढी प्रशिक्षकसँग संघ या कर्मचारीबाट राजीनामा दिनुपर्ने विकल्प हुनेछ।  

प्रकाशित: १ श्रावण २०७७ ०२:१९ बिहीबार

खेलकुद विकास ऐन–२०७७ राष्ट्रिय खेलकुद परिषद्