खेल

स्वर्ण विजेतालाई झुक्क्यायो नगरपालिकाले

स्वर्ण पदक विजेता खेलाडी सन्जु चौधरीले नेपालगन्ज उपमहानगरपालिकाले  खेलाडीलाई अपमानित गरेको बताएकी छिन्।  

नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार साताैं नगरसभाको अवसर पारेर खेल क्षेत्रमा सफलता हासिल गर्ने खेलाडीलाई सम्मान गरेको थियो। तर सन्जुलाई भने उपमहानगरपालिकाले सम्मान गर्ने भनेर झुक्क्याएको छ।  

सम्मान कार्यक्रमको २ घण्टा अघि मात्र आफूलाई नगरपालिकाले जानकारी गराएको भन्दै सन्जुले दुख व्यक्त गरिन्। उनले भनिन्, ‘सम्मान कार्यक्रम छ भनेर १२ बजेतिर फोन आयो। कार्यक्रम १ बजेबाट सुरु हुन्छ भन्ने खबर आयो। म अहिले काठमाडौंमा भएकाले बुबा र आमालाई कार्यक्रम भएको स्थानमा पठाएँ। तर नगरपालिकाले आवश्यक कागजात नभएको भन्दै सम्मान गरेन।’

सन्जु नेपालगन्जलाई २२ वर्षपछि भारोत्तोलनमा स्वर्ण पदक दिलाउने खेलाडी हुन्। उनले गत मंसिरमा काठमाडाैंमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन्। सन्जुसँगै नेपालगन्जका प्रकाश केसीले साग खेलकुदमा कांस्य पदक जितेका थिए। केसीलाई भने नगरपालिकाले मंगलबार नगद ५० हजारसहित सम्मान ग-यो।  

सन्जुका स्थानीय प्रशिक्षक सकिल अहमदले नगरपालिकाले खेलाडीलाई सम्मान गर्ने भनेर अपमान गरेको बताए। उनले भने, ‘सन्जुले हासिल गरेको सफलता नेपालगन्जले मात्र होइन नेपालले गर्व गर्न लायकको छ। तर आज नगरपालिकाले सम्मानको नाममा सन्जुको परिवारलाई अपमान गरेको छ। सम्मान गर्ने भन्दै बोलाएर किन गरिएन ? यसमा नगरपालिकाले जबाफ दिनुपर्छ।’

नगरपालिकाले सन्जु र प्रकाशलाई सम्मान गर्ने भनेर आफूलाई केही घण्टाअघि मात्र वडा नम्बर २ अध्यक्ष सुनिलसिंह हमालले फोन गरेर जानकारी गराएको प्रशिक्षक अहमदले बताए। सम्मान कार्यक्रममा सन्जुको अभिभावक पुगेपछि आवश्यक प्रमाण नपुगेको भन्दै फिर्ता पठाएको प्रशिक्षक अहमदले गुनासो गरे। उनले थपे, ‘सन्जुले जितेको स्वर्ण पदकको बारेमा कसलाई थाहा छैन। लकडाउनका कारणले सरकारले प्रमाणपत्र दिन सकेको छैन। यस्ता प्राविधिक कुराले खेलाडीको सम्मान गर्न नगरपालिकाले रोक्नु भनेको अपमान गर्नु हो।’

प्रकाशित: ३१ असार २०७७ ०५:१२ बुधबार

स्वर्ण विजेता