म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले एक खेलमा पाँच वैकल्पिक खेलाडी परिवर्तन गर्न पाउने प्रावधानलाई स्वागत गर्दै सुचारु हुन लागेको प्रिमियर लिगमा लागू हुने विश्वास व्यक्त गरेका छन् ।
विश्वभर कोरोना भाइरसको महामारीपछि गत मार्च महिनाबाट स्थगित भएको प्रिमियर लिग आगामी जुन १७ तारिखबाट सुचारु हुँदै छ । सुचारु हुन लागेको लिगमा पाँच वैकल्पिक खेलाडी राख्ने प्रावधान लागू हुनेमा सोल्सजायर आशावादी रहेका हुन् ।
महामारीसँगै स्थगित भएका खेलकुद गतिविधि बिस्तारै सुचारु गर्दै विश्वलाई पुरानै लयमा फर्काउन खेलकुद सम्बद्ध निकाय लागिरहेका छन् । त्यसै कारण प्रिमियर लिग आउँदो साताबाट लिग सुचारु गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
सोल्सजायरको टोली म्यानचेस्टर युनाइटेडले लिग सुचारु भएको दोस्रो दिनपछि नै टोटेनह्यामसँग प्रिमियर लिगमा सामना गर्दा युरोपियन छनोट खेलका लागि सेफिल्ड युनाइटेडसँग जुन २४ र एफए कपमा नर्विचसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दै छ ।
तय भएको तालिकाअनुसार लिग समापन हुन नसक्ने भएपछि प्रशिक्षक र क्लब पदाधिकारीसँगको लामो छलफलपछि निस्किएको निष्कर्षमा पाँच खेलाडी परिवर्तन पाउने नयाँ नियम बनेको थियो । सोही नियमअनुसार लिग सुचारु हुने अपेक्षा लिइएको छ ।
‘खेलाडीलाई परिवर्तनको नयाँ नियमले पक्कै राहत मिल्नेछ । लामो समयपछि फुटबल फर्किंदा खेलाडीलाई कठिन पनि हुने थियो,’ सोल्सजायरले भने, ‘खेलाडीमा स्वास्थ्य, फिटनेस र चोटको दृष्टिले पनि यो नियम खेलाडीमैत्री बनेको छ । यसो हुँदा कुने पनि टोली एउटै खेलाडीमा भर पर्नुेपर्ने अवस्था रहेन ।’
म्यानचेस्टर युनाइटेड आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुन मात्र तीन अंकले पछि छ । त्यसका लागि आफ्नो टोली छनोट हुनेमा ढुक्क रहेको युनाइटेडका प्रशिक्षक सोल्सजायरले थपे । तर युनाइटेडलाई पाउल पोग्बा र मार्कुस रसफोर्डमा भएको चोटको समस्या टाउको दुखाइ हुनेछ । पोग्बा र रसफोर्डमा ढाडको समस्या देखिएको थियो । तर पनि प्रशिक्षक पोग्बा र रसफोर्ड सुचारु हुने समयसम्ममा महत्वपूर्ण खेलाडी चोटमुक्त हुने अपेक्षा राखेका छन् ।
प्रकाशित: २५ जेष्ठ २०७७ १३:४८ आइतबार