खेल

महावीर र हिमालयन सेमिफाइनलमा

म्यान अफ दी म्याचको ट्रफी ग्रहण गर्दै महावीरका विभात्सु थापा (दायाँ)।

काठमाडौं – महावीर क्लब र हिमालयन क्रिकेट एकेडेमी जारी काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगितामा आइतबार सेमिफाइनलमा पुगेका छन्।   मूलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगितामा हिमालयनले ग्रेट हिमालयनलाई १ विकेटले र महावीरले ओसिस क्रिकेट एकेडेमीलाई ८० रनले हराउँदै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएका हुन्। कुल १२ टोलीलाई चार समूह विभाजन गरी खेलाइएको छनोटमा प्रत्येक समूहको शीर्ष चारले सेमिफाइनलमा स्थान बनाउनेछन्। ‘सी’ को अन्तिम खेलमा ओसिसलाई स्तब्ध बनाउँदै महावीर समूह विजेताको रूपमा सेमिफाइनलमा पुग्न सफल भयो।

‘डी’ को अन्तिम खेलमा हिमालयनले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई स्तब्ध बनाउँदै समूह विजेताका रूपमा अन्तिम चारमा स्थान बनायो। निर्धारित २५ ओभरमा १ सय १२ रनको लक्ष्य पछ्याएको हिमालयनले २३.२ ओभर खेल्दै ९ विकेटको क्षतिमा संघर्षपूर्ण जित निकाल्यो। हिमालयनको जितमा रजत तिमल्सिनाले ५७ रनको अर्धसतकीय योगदान दिए। उनले ६२ बलमा ७ चौका र दुई छक्का हिर्काए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसके पनि ग्रेट हिमालयनले खर्चिएको अतिरिक्त २१ रन नै हिमालयनको जितका लागि पर्याप्त बन्यो। ग्रेट हिमालयनका आरियो पौडेल र सन्दीप पराजुलीले तीन विकेट तथा इसान पाण्डेले दुई र रूपेश श्रीवास्तभले एक विकेट लिए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन्। त्यसअघि ब्याटिङ गरेको ग्रेट हिमालयनले २४ ओभरमा अलआउट हुनुअघि १ सय ११ रन बनायो।

प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगितामा हिमालयनले ग्रेट हिमालयनलाई १ विकेटले र महावीरले ओसिस क्रिकेट एकेडेमीलाई ८० रनले हराउँदै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएका छन्।
 

सभल अधिकारीले नटआउट ३४ रन, सोनु देवकोटाले १९ रन र सुरज दाहालले १२ रन बनाए। हिमालयनका कौशल रूपाखेतीले तीन विकेट तथा प्रतिस जिसी, शरद खड्का र प्रदीप विकले समान दुई विकेट लिँदै ग्रेट हिमालयनको इनिङ एक ओभर बाँकी छँदै नै समेट्न सफल भए। अर्को खेलमा १ सय ६३ रनको विशाल लक्ष्य पछ्याएको ओसिस क्रिकेट एकेडेमी १८.५ ओभरमा अलआउट हुँदा ८२ रन मात्र बनाउन सफल भएपछि महावीरले फराकिलो जित दर्ता गर्‍यो। ओसिसका स्वरूप श्रेष्ठले नटआउट १५ रन र आइस भट्टराईले १५ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। महावीरका जितेन्द्रसिंह ठकुरी र सम्यम केसीले समान तीन विकेट तथा चन्द्रकुमार बुढा, दीपेन्द्र मैनाली र सरव्य शाही ठकुरीले समान १/१ विकेट लिँदैै ओसिसलाई सस्तैमा समेटे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको महावीरले २२ ओभरमा छोट्याइएको खेलमा ४ विकेट गुमाउँदै १ सय ६२ रनको विशाल योगफल बनाएको थियो। उसका लागि विभात्सु थापाले ५९ रन र प्रकाश बिष्टले ५० रनको अर्धशतकीय योगदान दिए। रवीन जोशीले नटआउट २६ रन बनाउँदा महावीरले विशाल योगफल बनायो। ओसिसका आनन्दु काफ्ले र आयुस बानियाँले समान एक विकेट लिनुबाहेक अन्य बलर विकेटविहिन रहे।

प्रकाशित: २६ फाल्गुन २०७६ ०२:३७ सोमबार

क्रिकेट सेमिफाइनल