खेल

झापाविरुद्ध मनाङको कठिन जित

पोखरा - मनाङ मर्स्याङ्दि क्लब जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा आइतबार भएको क्वार्टरफाइनलमा झापा–११ फुटबल क्लबलाई १–० गोलले हराउँदै पाँच पटकको उपाधि विजेता मनाङ सेमिफाइनलमा पुगेको हो। मनाङका लागि अञ्जन विष्टले निर्णायक गोल गरे। खेलको ७५औं मिनेटमा अञ्जनले गरेको गोल जितका लागि निर्णायक बन्यो। दयानन्द सिंहको फ्लिक पास नियन्त्रण लिँदै अञ्जनले डिएरिया बाहिरबाट शुन्दर गोल गरेका थिए। सुरु देखि नै पर्ख र हेरको रणनीतिमा रहेका दुवै टोलीले आइतबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। एकाध बाहेक दुवै टोलीले उत्कृष्ट बनाउन सकेनन्। मनाङले २१औं मिनेटमै अग्रता लिने मौका गुमायो। निशान लिम्बुको पासमा डिएरियाभित्र अनमार्क विमल रानाले प्रहार गरेको बल फस्ट बार हुँदै बाहिरियो। मनाङले दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा गोलअन्तर दोब्बर पार्ने अवसर गुमायो।

दयानन्द सिंहको पासमा सब्सिच्युट खेलाडी जीवन गुरुङले प्रहार गरेको बल सेकेन्ड बार हुँदै बाहिरियो। झापाले पनि केही गोल गर्ने अवसर खेर फाल्दा क्वार्टरफाइनलबाटै घर फर्किनुपर्‍यो। झापाले पहिलो हाफको ईञ्जुरी समयमा गोल गर्ने सुन्दर मौका गुमाएको थियो। झापाका सुनील खड्काले हानेको प्रहार मनाङका गोलकिपर अशोक बरालले पञ्च गर्दै बचाए। झापाले इन्जुरी समयमा पनि गोल गर्ने अवसर पाएको थियो। तर उक्त अवसरमा गोल गर्न नसक्दा बराबरी गर्ने मौका चुकायो। खेल सकिन २० सेकेन्ड बाँकी रहँदा झापाका विशाल राई ‘बी’को पासमा अभिशेक गुरुङले मैदानको बायाँ साइडबाट प्रहार गरेको बल फस्ट बार हुँदै बाहिरिँदा झापा सेमिफाइनल नपुग्दै घर फर्किन बाध्य भयो। जितपछि मनाङका प्रशिक्षक फुजा टोपेले यात्राको थकानका कारण खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसेकेको बताए। ‘हामी लामो यात्रा गरेर आयौं,‘थकानका कारण खेलाडीले धन्न जित हात पारे। अब अर्को खेलमा सुधारिएर प्रदर्शन गर्नेछौं।’

पराजित झापा–११ फुटबल क्लबका प्रशिक्षक सन्तोष गुरुङले फुटबलको बाघ भनेर चिनिने मनाङलाई कडा टक्कर दिनु नै ठूलो कुरा भएको बताए। गोल खानुलाई दुर्भाग्य भन्दै उनले फिनिसिङमा चुक्दा जितको नजिक पुगेर पनि हार बेहोर्नुपरेको बताए।  मनाङका लागि निर्णायक गोलकर्ता अञ्जन विष्ट म्यान अफ दी म्याच घोषित भए। मनाङका महासचिव अनिल गुरुङले रातो कार्ड खाएका छन्। प्रतियोगिता चलिरहँदा प्लेयर बक्समा बसेर रेफ्रीलाई अपशब्द प्रयोग गरेको भन्दै रेफ्री नवीन्द्र महर्जनले उनलाई रातो कार्ड दिएका हुन्। सुरुमा फोर्थ अफिसियलले सम्झाउँदै प्लेयर बक्स छाड्न आग्रह गर्दा अटेर गरेपछि रेफ्री महर्जनले रातो कार्ड दिँदै प्लेयर बक्सबाट हटाएका थिए।

आइतबार दुई सयौं खेल पुगेको उपलक्ष्यमा आयोजक सहारा क्लब पोखराले उत्सव मनाएको छ। क्याराभान गोल्डकपदेखि अहिलेसम्मको सबै खेल जोड्दा दुई सयौं म्याच पुगेको उपलक्ष्यमा बेलुन उडाएर उत्सव गरिएको क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए। सोमबार थ्री स्टार क्लब र गान्तोक फुटबल क्लब भारतबीच प्रतिष्पर्धा हुने अयोजकले जनाएको छ। खेलको ७५औं मिनेटमा अञ्जनले गरेको गोल जितका लागि निर्णायक बन्यो। दयानन्द सिंहको फ्लिक पास नियन्त्रण लिँदै अञ्जनले डिएरिया बाहिरबाट शुन्दर गोल गरेका थिए।

प्रकाशित: २६ फाल्गुन २०७६ ०१:४८ सोमबार

रारा_गोल्डकप सेमिफाइनल