खेल

मकाउका चियोङ सम्मानित

काठमाडौं – काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपले मकाउका नागरिक तान होन चियोङलाई बुधबार सम्मान गरेको छ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा आयोजित एक कार्यक्रममा च्याम्पियनसिप आयोजक कमिटीले चियोङ र चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्शन थापामगरलाई पनि सम्मान गरेको हो। प्रदेश–३ का सांसद गणेशप्रसाद दुलाल, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्द र आयोजक कमिटीका संयोजक कुमार लामा घिसिङले चियोङलाई सम्मानपत्रद्वारा सम्मान गरेका थिए। चियोङले नेपाली तेक्वान्दो खेल विकासमा लामो समयदेखि योगदान पुर्‍याएकाले सम्मान गरिएको थियो।

मकाउ कन्स्ट्रक्सनका अध्यक्षसमेत रहेको चियोङले नेपाली तेक्वान्दो खेलाडीलाई मकाउमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने क्रममा पनि सहयोग पुर्‍याउँदै आएका छन्। उनले नेपालमा तीन संस्करणसम्म सञ्चालित काठमाडौं तेक्वान्दो च्याम्पियनसिपमा समेत सहयोग पुर्‍याउँदै आएको आयोजक कमिटीका संयोजक घिसिङले बताए। सो क्रममा चियोङले नेपाल भ्रमण गर्न पाउँदा निकै खुसी लागेको बताएका थिए। साथै उनले नेपाली खेलाडी निकै मिहिनती रहेकाले तेक्वान्दोमा नेपालले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे।

युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा हुँदै आएको अन्तर्राष्ट्रिय च्याम्पियनसिप आयोजक कमिटीले विभिन्न संघसंस्था र व्यक्ति गरी कुल २६ सरोकारवालालाई कदरपत्र प्रदान गरेको थियो।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:०२ बिहीबार

तेक्वान्दो च्याम्पियनसिप मकाउ