खेल

असरक र शंकरनगर विजयी

भैरहवा - बंगलादेशको असरक स्पोर्ट्स क्लबले भैरहवामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेटमा दोस्रो जित निकाल्दा शंकरनगर क्रिकेट क्लबले पनि सफलता प्राप्त गरेको छ।

भैरहवाको सिद्धार्थ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपालको सोबिज क्रिकेट क्लबलाई १ सय ५ रनले हराउँदै असरकले दोस्रो सफलता निकाल्दा शंकरनगरले भारतको सराह क्रिकेट क्लबलाई ८ विकेटले स्तब्ध बनाएको हो। २ सय २२ रनको लक्ष्य पछ्याएको सोबिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदा १ सय १६ रन मात्र बनाउन सकेपछि असरकले फराकिलो जित दर्ता गर्‍यो।

सोबिजका दीपक बोहराले सर्वाधिक ४४ रन बनाउँदा विवेक बुढाथोकीले २९ र रवि सिंहले २४ रनको योगदान दिए पनि टोलीको हार टार्न पर्याप्त भएन। असरकका हरप्रीत चोपराले दुई विकेट लिँदा एमबिए चौधरीले एक विकेट निकाले। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको असरकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रनको विशाल योगफल बनाएको थियो। असरकका अली समदले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ९३ रन बनाए।

डान रावर्ट्सले ५४ र मोहम्मद सज्जाद हुसेनले २२ रन बनाएपछि सोबिजले विशाल लक्ष्य सामना गर्‍यो । सोबिजको बलिङमा अभियान बस्नेत र रवि सिंहले २/२ विकेट लिँदा शुभम् सिंह ठकुरीले एक विकेट निकाले। असरकका अली समद म्यान अफ दी म्याच चयन भए। शुक्रबारकै दोस्रो खेलमा ८१ रनको मध्यम लक्ष्य पछ्याएको शंकरनगरले ९.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। शंकरनगरका सन्दीप सुनारले ४५ रन र सौरभ खनालले २७ रनको अविजित इनिङ खेले।

सराहको बलिङमा राज र बाबुले १/१ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको सराहले २० ओभरमा अलआउट हुँदा ८० रन मात्र बनाउन सक्यो। सराहका राजले ३० रन, पवनले २० र बाबुले १३ रन बनाए। शंकरनगरको बलिङमा दुर्गेश गुप्ता, सन्दीप सुनार र सहाब आलमले २/२ विकेट तथा विक्रम भुसाल र अनिल खरेलले १/१ विकेट लिए। शंकरनगरका सन्दीप सुनार म्यान अफ दी म्याच भए। शनिबारको पहिलो खेल पाकिस्तानको गुजरात लायन्स क्रिकेट क्लब र काठमाडौंको राइनो स्पोर्ट्स क्लब तथा दोस्रो खेलमा अल्फा वारियर्स मुम्बई र सोबिज क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए।

भैरहवा क्विन्स प्रालिको आयोजना राइनो स्पोर्ट्सको संयोजनमा जारी अन्तरदेशीय प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका कुल ८ व्यावसायिक क्लबले प्रतिस्पर्धा गर्दैछन्। रूपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा २२ गतेसम्म हुने प्रतियोगिता ४/४ क्लबलाई दुई समूहमा विभाजन गरी लिग चरणमा गराइँदै छ। प्रतियोगिताको ह्वाक नेपाल, कामना सेवा बैंक, स्प्यारो एसएमएसले प्रायोजन गरेको छ भने प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार पाउनेछ।

२ सय २२ रनको विशाल लक्ष्य पछ्याएको नेपालको सोबिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदा १ सय १६ रन मात्र बनाउन सकेपछि बंगलादेशको असरकले फराकिलो जित दर्ता गर्‍यो।

प्रकाशित: १७ फाल्गुन २०७६ ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App