धरान – विमल घर्तीमगरले ह्याट्रिक गर्दा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब, काठमाडौं धरानमा जारी २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
धरान १६ स्थित रंगशालामा मंगलबार भारत कोलकाताको सन डे एफसीमाथि ६–१ को रबाफिलो जित दर्ता गर्दै मच्छिन्द्र सेमिफाइनल पुगेको हो। मच्छिन्द्रको ह्याट्रिक प्रतियोगताकै पहिलो हो। उनले खलको २०औं मिनेटमा पहिलो गोल गरेका थिए भने ७९ औं र ८७औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए।
मच्छिन्द्रका लागि थप २ गोल विशाल राई ‘बी’ ले गरे। उनले खेलको २८औं मिनेटमा रेजिन सुब्बाको प्रहार सन डेका गोलकिपरले फर्काएको मौकामा बल भेटेर जाली चुमाएका थिए। यस्तै, खेलको ७३औं मिनेटमा पिटर सेगुनको पासमा विशालले व्यक्तिगत दोस्रो गोल गरेका थिए। यसै गरी, खेलको ४९औं मिनेटमा रेजिन सुब्बाले मच्छिन्द्रका लागि थप एक गोल गरे। सनडेका गोलकिपर सौरभ वीरको गल्तीमा बल बुद्ध चेमजोङले पाए। उनले रजिनलाई पास दिएका थिए। रेजिनले गोल गर्ने मौका खेर फालेनन्। कोलकाताका लागि एक मात्र सान्त्वना गोल खेलको ८२औं मिनेटमा सञ्जीव बौरीले गरेका थिए।
एक साताभित्र महत्वपूर्ण दुई उपाधि जितेको मच्छिन्द्र खेलअवधिभर हाबी रह्यो। मच्छिन्द्रले लिग जितेपछि झापाको सताक्षीधाम गोल्डकप पनि दुई दिनअघि जितेको थियो। मच्छिन्द्रले थुप्रै अवसर पाएर पनि गोल गर्नबाट चुकेको थियो। खेलको २७औं मिनेटमा रेजिन सुब्बा वान भर्सेस वानमा गोल गर्न चुके भने ६१औं मिनेटमा विराज मर्हजनको पासमा रेजिनले पेनाल्टी एरियाबाट गरेको भली प्रहार बाहिरियो। यस्तै, ६६औं मिनेटमा पिटर सेगुन पनि वान भर्सेस वानमा गोल गर्न चुके। ८५औं मिनेटमा बुद्धको पासमा विमल पनि गोल गर्न चुकेका थिए।
सन डे एफसीले पनि खेलमा केही अवसर खेर फाल्यो। खेलको चौथो मिनेटमै पाएको फ्रिकिकमा दिपायान समनताको प्रहार मच्छिन्द्रका गोलकिपरले रोके। ३५औं मिनेटमा अक्रिम मरिसको पासमा जेसन कडेको प्रहार क्रस बारमा ठोक्किएर फर्कियो । पहिलो हाफको इन्जुरी समयमा गुड्डुको पासमा कोउडियो औटाउको प्रहारलाई गोललाइननजिकैबाट मछिन्द्रका देवेन्द्र तामाङले फर्काइदिए। खेलको ५६औं मिनेटमा पनि प्रविर वीरको पासमा गुड्डुको प्रहार पोलमा ठोक्किएर फर्कियो भने ७८औं मिनेटमा अक्रिमको पासमा बाबुलालको प्रहार पोलमा ठोक्किनु दुर्भाग्य भयो।
खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका विमल मगर घोषित भए। उनले नगद १५ हजार हात पाए भने बेस्ट गोलको पुरस्कार नगद ५ हजार कलकत्ताका सञ्जीव बौरीले पाए। मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले नतिजा राम्रो आएपनि विपक्षी कमजोर भएकोले खेलाडीहरूले शतप्रतिशत नखेलेको बताए। सन डेका प्रशिक्षक रहमत आलमले अन्तिम समयमा निमन्त्रणा आएकाले जुनियर खेलाडी लिएर आएको र खेलाडीहरू नयाँ ठाउँमा नर्भस भएर खेलेको बताए। प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र युनाइटेड कर्साङ भारतबीच हुनेछ।
प्रकाशित: १४ फाल्गुन २०७६ ०३:५३ बुधबार