खेल

दुईदिवसीय क्रिकेटको तयारी पूरा

काठमाडौं – सोमबारबाट हुने यु–१९ दुईदिवसीय क्रिकेट प्रतियोगिता हिमालयन क्रिकेट लिगको उद्घाटन खेलमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) र हिमालय क्रिकेट एकेडेमी (एचसिए) भिड्ने भएका छन्।

हिमालय स्पोर्ट्स म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलन गरेर सोमबारबाट हुने प्रतियोािगताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। जसअनुसार प्रतियोगिताको उद्घाटन खेलमा जिएचसिए र एचसिए भिड्ने जनाइएको छ। प्रतियोगिता मूलपानी क्रिकेट मैदानमा आयोजना हुँदै छ। दुई हप्तासम्म चल्ने प्रतियोगितामा काठमाडौंका ६ क्रिकेट एकेडेमीले सहभागिता जनाउँदै छन्। पहिलो पटक आयोजना हुन लागेको दुईदिने क्रिकेट प्रतियोगितालाई अर्किड इन्टरनेसनल कलेजले प्रायोजन गरेको छ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी), वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडमी, हिमालय क्रिकेट एकेडमी, ओसिस क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लब र नेक्सस क्रिकेट एकेडमीले सहभागिता जनाउँदै छन्। आयोजकले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ। राउन्ड रोबिन लिगपछि प्रत्येक समूहका शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल फागुन १८ र १९ गते हुनेछ।

प्रतियोगिताको उपाधि विजेताले नगद रु १ लाख ५० हजार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई पनि परस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।दुईदिवसीय क्रिकेटअन्तर्गत दुवै टोलीले पहिलो इनिङ्समा ६० ओभरसम्म खेल्न पाउनेछन्। दोस्रो इनिङ्समा बन्देज लगाइने छैन। प्रत्येक जितका लागि १० अंक दिइनेछ भने बराबरी भएको स्थितिमा दुवै टोलीले पाँच अंक पाउनेछन्।

प्रकाशित: ५ फाल्गुन २०७६ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App