खेल

केनिनलाई करियरको पहिलो ग्रान्ड स्लाम

करियरको पहिलो ग्रान्ड स्लामका साथ सोफिया केनिन । तस्बिर :एपी

मेलबर्न – अमेरिकाकी सोफिया केनिनले स्पेनकी गार्बिन मुगुरुजालाई शनिबार अस्ट्रेलियन ओपनको फाइनलमा स्तब्ध बनाउँदै करियरको पहिलो ग्रान्ड स्लाम जितेकी छन्।

पहिलो पटक ग्रान्ड स्लाम फाइनल खेलेकी केनिनले दुई ग्रान्ड स्लाम विजेता मुगुरुजालाई स्तब्ध बनाउँदै वर्षको पहिलो ग्रान्ड स्लाम आफ्नो बनाएकी हुन्। दुई घन्टा ३ मिनेटमा उपाधि आफ्नो बनाएकी केनिन १२ वर्षपछि अस्ट्रेलियन जित्ने सबैभन्दा कान्छी उमेरकी खेलाडीसमेत भइन्। २१ वर्ष ८० दिनकी केनिन गत वर्ष जापानकी नाओमी ओसाकाले उपाधि जित्नुभन्दा २२ दिनले कान्छी छिन्।

सन् २००८ मा मारिया सारापोभाले २० वर्षमै उपाधि जितेकी थिइन्। २१ वर्षीया केनिनले पहिलो सेट गुमाउनाका बावजुद उत्कृष्ट पुनरागमन गर्न सफल भइन्। केनिनले मुगुरुजामाथि ४–६, ६–२ र ६–२ को जित निकालिन्। मुगुरुजामाथि जित रचेसँगै केनिन आफ्नो प्रशिक्षकसमेत रहेका पिता एलेक्जेन्डरसँग खुसी साट्न पुगेकी थिइन्। हाल विश्वको १४औं वरीयतामा रहेकी केनिन यो सफलतासँगै विश्व नम्बर सातमा पुग्नेछिन्।

केनिनले सेरेना विलियम्स तेस्रो चरणबाटै बहिर्गमन भएपछि पनि अमेरिकालाई सफलता दिलाइन्। केनिनले यसअघि सेमिफाइनलमै विश्व नम्बर एक एस्लेघ बार्टीलाई स्तब्ध बनाउँदै सनसनीपूर्ण नतिजा निकालेकी थिइन्। ‘मेरो सपना आज पूरा भएको छ। यसलाई कसरी व्यक्त गर्ने भन्ने मसँग शब्द नै छैन,’ केनिनले भनिन्,‘सपना पूरा हुँदा आजको दिन निकै यादगार बन्यो ।’ सन् २०१९ को पछिल्ला ६ महिनामा एक खेल मात्र जितेकी मुगुरुजाले मेलबर्नमा भने लयमा समाउँदै फाइनलको यात्रासम्म यात्रा तय गरेकी थिइन्।

फाइनलमा पनि उनले पहिलो सेट आफ्नो बनाउँदै उपाधि आफ्नो बनाउने संकेत देखाएकी थिइन्। रोड लाभेर एरिनामा भएको फाइनलमा २६ वर्षे मुगुरुजाले पछि परेको अवस्थामा पहिलो सेट आफ्नो पक्षमा पारेकी थिइन्। भेनेजुएलामा जन्मिएकी मुगुरुजाले आफ्नो लयलाई निरन्तरता दिन भने सकिनन्। त्यसपछिका सेटमा खराब प्रदर्शन गर्दा मुगुरुजाले केनिनलाई सहजै खेल सुम्पिइन्।

यससँगै गत नोभेम्बरमा अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमन्जारो सफल आरोहण गरेकी मुगुरुजा यस पटक वर्षको पहिलो ग्रान्ड स्लामनजिक पुगेर पनि चुकिन्। दोस्रो सेटमा निकै आक्रामक बनेकी केनिनले ४–१ को अग्रता लिएपछि भने सहज खेल प्रस्तुत गरेकी थिइन्। उनले दोस्रो सेट ३२ मिनेटभित्रै आफ्नो बनाउँदै आक्रामक खेलको नमुना प्रस्तुत गरेकी थिइन्।

तेस्रो सेटमा ४–२ ले पछि परेको अवस्थामा मुगुरुजाले डबल फाउल गर्दा केनिनको उपाधियात्रा थप सहज बनेको थियो। रसियाको मस्कोमा जन्मिएकी केनिन १५ वर्षीया कोको गउफको पहिलो ग्रान्ड स्लाम जित्ने लक्ष्यमा पनि बाधक बनेकी थिइन्। उपाधिविमुख भए पनि मुगुरुजाले आफू खुसी नै रहेको बताइन्। मलाई लाग्छ, यो हारपछि निकै खुसी हुने अवस्था भने पक्कै हुनेछैन।तर, भित्री मनदेखि हाँसिरहेको छु,’ फ्रेन्च ओपन र विम्बल्डन च्याम्पियन मुगुरुजाले भनिन्।

आफू लयमा फर्किन संघर्षरत रहेको अवस्थामा मिडियाबाटै निकै गलत तरिकाबाट आलोचनाको सिकार भएको बताउँदै मुगुरुजाले यहाँसम्म पुग्दा भित्री मन भने खुसी रहेको बताएकी हुन्। ‘पछिल्ला दुई वर्ष निकै अफ्ठ्यारो स्थितिमा गुज्रनुप-यो। मिडियाकै कारण मलाई टेनिसमै रहिरहन निकै संघर्ष हुने अवस्था बन्यो,’ मुगुरुजाले भनिन्, ‘त्यति बेला मैले केही सोचिरहनै सकिनँ। तर आज उनीहरू नै सबै ठीक छ भन्छन्। यदि अर्को हप्ता  पराजित भएमा पुनः टार्गेट बन्नेछु।’ हाल विश्व वरीयतामा ३६औं स्थानमा रहेकी मुगुरुजा पुनः १६औं स्थानमा पुग्नेछिन्।

‘मेरो सपना आज पूरा भएको छ। यसलाई कसरी व्यक्त गर्ने भन्ने मसँग शब्द नै छैन। सपना पूरा हुँदा आजको दिन निकै यादगार बन्यो।’

प्रकाशित: १९ माघ २०७६ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App