खेल

फाइनलमा लुम्बिनी खुकुरी र बुटवल–११ भिड्दै

म्यान अफ द म्याच प्रकाश केसीलाई पुस्कृत गर्दै सिद्धार्थनगर वडा नं. ३ का वडाअध्यक्ष थानेश्वर पौडेल ।

भैरहवा- भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गतको बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजन क्रिकेट क्लब बुटवललाई ५ विकेटले पराजित गर्दै बुटवल–११ विजयी भएको हो ।

विजयीसँगै बुटवल ११ले उपाधिको लागि फाइनलको यात्रा तय गरेको छ । टस जितेर व्याटिङ गरेकोे न्यु होराइजन क्लबले निर्धारित ५० ओभर मध्ये ४१ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो । ११६ रनको लक्ष्य पाएको बुटवल–११ ले  ३६ दशमलव २ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पार गरेपछि  फाइनलमा प्रवेश गरेको हो ।

जितका लागि बुटवल–११का प्रकाश के.सी.ले नटआउट ७७ वलमा ६४ रन, प्रथम पराजुलीले नटआउट १८ र इशान पाण्डेले ११ रनको योगदान गरे । बलिङमा न्यु होराइजनका पुरुषोत्तम भट्टराईले २ एव गोविन्द के.सी. र कृष्ण पराजुलीले १–१ विकेट लिए ।

पहिलो पारी खेल्दै न्यु होराइजनका बाबुराम क्षेत्रीले ४० (नटआउट), शक्ति गौचनले १५ र निर्मल थापाले १२ रनको योगदान गरेपनि जित हात पार्न सफल भएनन् । बलिङमा बुटवल–११ का देवेन्द्र सोमरे, प्रकाश के.सी., इशान पाण्डे र शुसान्त तिमिल्सिनाले २–२ र सुधन श्रेष्ठले १ विकेट लिए ।

शनिबारको खेलमा बुटवल–११ का प्रकाश के.सी. म्यान अफ द म्याच भए । उनलाई सिद्धार्थनगर ३ का वडा अध्यक्ष थानेश्वर पौडेलले  नगद रु एक हजार र सिल्डसहित पुरस्कृत गरे ।

गत पुस २५ गतेदेखि सुर भएको रुपन्देही प्रिमियर लिगको फाइनल खेल आइतबार बिहान ८ः३० बजे सिद्धार्थ रंगशालामा सुरु हुने छ । गत वर्षको विजेता लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया र सेमिफाइनल विजेता बुटवल–११ क्लब बुटवल बीच हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए ।

२०५४ सालदेखि निरन्तर भैरहवा हुँदै आएको रुपन्देही प्रिमियर लिग माघ १९ गतेसम्म सञ्चालन हुने छ । विके ज्वेलर्स भैरहवाको सह प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले ८० हजार नगद, उपविजेताले ४० हजार नगदसहित र ट्रफी प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई १५ हजार, बेष्ट ब्याट्स म्यान, बेष्ट वलर र उदयमान खेलाडीलाई जनही ५ हजार पुरस्कार पाउने छन् भने म्यान अफ द म्याचले १ हजार पाउने छन ।

 

प्रकाशित: १८ माघ २०७६ १२:४२ शनिबार

रुपन्देही_सुपरलिग_क्रिकेट फाइनल