खेल

मलेसिया ११ फेरि पराजित

पोखरा - दोस्रो एकदिवसीय खेलमा मलेसिया ११ लाई १ सय ७० रनले पराजित गर्दै  नेपाल क्रिकेट संघ–११ ले तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार मलेसियाले २ सय ९१ रनको लक्ष्य पछ्याएको थियो। अघिल्लो दिनको भन्दा बढी रनको लक्ष्य पछ्याउने क्रममा मलेसियन टोली भने २८.४ ओभरमा अलआउट हुँदै १ सय २० रनमा समेटियो। मलेसियन टोलीलाई सस्तैमा रोक्न किशोर महतो र ललित राजवंशीको उत्कृष्ट स्पेल रह्यो। उनीहरू दुवैले समान ३ विकेट लिए। एक हप्तादेखि बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय क्रिकेट टोलीले मलेसिया ११ सित अन्तिम खेल बिहीबार खेल्नेछ। नेपाल–ओमान–अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारीमा एक हप्तादेखि नेपाली टोली पोखरामा बन्द प्रशिक्षणमा छ। बन्द प्रशिक्षणकै क्रममा मलेसिया ११ सित तीन खेलको मैत्रीपूर्ण शृंखला खेल्ने निर्णयसँगै खेलाडीको प्रदर्शनमा कसी लागेको छ।

मंगलबार पनि टस हारेर नेपाली टोलीले ब्याटिङ सुरु ग-यो। कप्तान ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले अर्धशतक पूरा गरे। अर्धशतक हिर्काएपछि दुवै आउट भए। कप्तान मल्लले अर्धशतक पूरा गरे पनि उनको स्थानमा रोहित क्रिज छिरे। रोहितले पनि अर्धशतक पूरा गरेपछि आउट भए। मल्लले ५० बल ५६ रन बनाए। दोस्रो विकेटका रूपमा छिरेका मल्लले कप्तानी जिम्मेवारी सम्हाल्दै ५ चौका र २ छक्का हिर्काए। पौडेलले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतले ५५ रनको योगदान गर्दै आउट भए। उनले चार चौका र दुई छक्का हिर्काएका थिए।

 ओपनर सुवास खकुरेलले ७४ बलमा ४७ रन बनाए। उनले केवल चार चौका ठोके। अर्धशतक बनाउन चुकेका खकुरेल अघिल्लो खेलमा भने १२ रनमै आउट भएका थिए। लोकेश बमले ३२ रनको योगदान दिए। उनले २८ बल खेल्दै तीन चौका र २ छक्का हिर्काएका थिए। विनोद भण्डारीले २७ रन बनाए। ओपनर सुनील धमलाले ३३ बलमा २४ रन बनाउँदै गतिलो सुरुआत दिलाउने प्रयास गरे। पवन सर्राफले १२ रन बनाए। सुशन भारीले अविजित १६ रन बनाए। मलेसियाको बलिङमा नजरिल रहमान र अनवर रहमानले समान २ विकेट लिए। मोहमद अरिफ र सर्भिन मुनिएन्डीले समान १ विकेट लिए।

जबाफी ब्याटिङ सुरु गरेको मलेसिया ११ भने १ सय २० रनमै समेटियो। मलेसियाका लागि सयद अजिजले सर्वाधिक २८ रन, भूषण सेभले २४, वीरनदीप सिंहले २३ तथा एहमद फैजले १९ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा नेपाली बलर किशोर महतोले ७.४ ओभरमा १९ रन खर्चिंदै ३ विकेट लिए। उनीसँगै ललित राजवंशीले ८ ओभरमा २८ रन दिएर ३ विकेट नै लिएका थिए। सुशन भारीले ७ ओभर बलिङ गर्ने क्रममा ३७ रन लिएर २ विकेट लिएका थिए। महतो म्यान अफ दी म्याच घोषित भए।

प्रकाशित: ८ माघ २०७६ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App