खेल

ज्ञानोदय क्रिकेट क्लब ६ विकेटले विजयी

म्यान अफ द म्याच कृष्ण भुसाललाई पुरस्कृत गर्दै कोच जंगबहादुर थापा ।

भैरहवा- भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको खेलमा बुटवल युथ स्पोर्टसलाई ज्ञानोदय क्रिकेट क्लबले ६ विकेटले पराजित गरेको छ।

टस जितेर पहिला ब्याटिङ गरेको बुटवल युथ स्पोर्टसले २४ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदैै  १०५ रनको लक्ष्य दिएको थियो। जितका लागि ज्ञनोदयले २३ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य हासिल गर्दै विजयी भयो। जसका लागि सरोज भुसालले २६ ,कृष्ण भुसालले अभिजित २३  र क्षितिज गैरेले १५ रन जोड्न सफल भए। वलिङ तर्फ  बुटवलका विनित पौडेलले २, आरिफ शेख र अजय चौधरीले समान एक–एक विकेट लिए।

त्यस्तै बुटवल युथ स्पोर्टको ब्याटिङ तर्फ कृष्ण गिरीले ३८ र विनित पौडेलले १६ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सफल भएनन्। ज्ञानोदयका कृष्ण भुसालले ३ विकेट, अशोक मौर्य र विवेक यादवले २–२ एवं सरोज भुसालले १ विकेट लिए।

शनिबार भएको खेलमा ज्ञानोदयका कृष्ण भुसाल म्यान अफ द म्याच घोषित भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए। उनलाई कोच जंगबहादुर थापाले 'म्यान अफ द म्याच'बाट पुरस्कृत गरे। आइतबारको खेल गोलपार्क क्रिकेट क्लब बुुटवल र जितगडी क्रिकेट क्लब बेलबासबीच हुनेछ।

२०५४ सालदेखि निरन्तर भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष चौथो पटक नेपाल टेलिकमको प्रायोजनमा हुँदैछ। रुपन्देही क्रिकेट संघको आयोजनामा माघ १८ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका २० क्लब प्रतिस्पर्धामा छन्। खेलमा १२ वटा क्लबले डिभिजन 'बी' का लागि खेल्नेछन् जसबाट उत्कृष्ट चार क्लब डिभिजन 'ए' मा पुग्नेछन्। डिभीजन 'ए' अन्र्तगतका ८ र 'बि' बाट आएको ४ क्लब गरी १२ क्लबबीच रुपन्देही सुपर लिग प्रतियोगिता हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष मल्लले बताए।

प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ नगदसहित र ट्रफी प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ठ खेलाडिलाई १५ हजार रुपैयाँ, बेष्ट ब्याट्स म्यान, बेष्ट वलर र उदयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।

 

प्रकाशित: २६ पुस २०७६ १०:२९ शनिबार

रुपन्देही_सुपरलिग_क्रिकेट ज्ञानोदय_क्रिकेट_क्लब