खेल

साइक्लिङका चार स्वर्ण नेपाललाई, बुद्धिबहादुर तामाङलाई क्रसकन्ट्री

काठमाडौं– १३औ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङका चारवटा स्वर्ण नेपालले जितेको छ।

बिहीबार सम्पन्न पुरुष क्रसकन्ट्री ओलम्पिकमा स्वर्ण जितेसंगै साइक्लिङतर्फ नेपालले चार स्वर्ण भित्र्याएको हो। गोकर्णेश्वर नगरपालिकास्थित शहीद पार्कमा सम्पन्न खेलमा बुद्धिबहादुर तामाङले स्वर्ण जितेका हुन्।

क्रसकन्ट्रीका रजत र कास्य पनि नेपालले नै जितेको छ।  नेपालका राजिब राज र ओकेसराज बज्राचार्य क्रमश रजत र कास्य जिते। 

त्यस्तै बिहीबार विहान सम्पन्न महिलातर्फको प्रतिस्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी थिइन्। उनले नेपालकै उषा खनाललाई पछि पारिन्। उषाले रजत पदक जितिन्। कास्य पदक भने भारतले जितेको छ।

यता हिजो सम्पन्न साइक्लिङको डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको थियो। प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। बुधबार भएको प्रतियोगितामा दुई रजत र एक कास्य पनि जितेको छ।

पुरुषतर्फ निरभ श्रेष्ठ र महिलातर्फ जमुना थापाले रजत पदक जितेका हुन्। साइक्लिङको प्रतिस्पर्धा एक किलोमिटर दूरीको भएको थियो। साइक्लिङमा चार स्वर्ण सहित कूल ९ पदक नेपालले जितेको छ। 

प्रकाशित: १९ मंसिर २०७६ ०८:५३ बिहीबार

साग साइक्लिङ