खेल

महिला भलिबलः उपविजेता हुँदै नेपाल सेमिफाइनलमा

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) महिला भलिबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार दिउँसो भएको खेलमा भारतले बंगलादेशलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेपछि नेपाल समुह उपविजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो। आज भएको खेलमा भारतले बंगलादेशलाई २५–८, २५–११ र २५–९ अन्तरले पराजित गरेको थियो।


बुधबार भएको खेलमा नेपालले बंगलादेशलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको थियो। तर हिजो विहीबार भएको खेलमा नेपाल भारतसंग पराजित भयो। अर्को चरणमा प्रवेश गर्न नेपालले आज भारत र बंगलादेशबीचको खेल कुर्नु पर्ने थियो।

जीतसंगै भारत समुह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो। दुई खेल जितेको भारत ६ अंक सहित र्शीष स्थानमा रहेको छ। एक खेलमात्रै जितेको नेपाल भने तीन अंक सहित दोस्रो स्थानमा छ।

दुबै खेल हारेको बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अब नेपालले समुह ‘बी’को विजेतासंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ। भारतले भने समुह ‘बी’को उपविजेतासंग प्रतिस्पर्धा गर्ने छ।

आजै हुने श्रीलंका र माल्दिभ्सबीचको प्रतिस्पर्धाले नेपालको सेमिफाइनल टोली टुंगो लाग्ने छ। उक्त खेलको विजयी टोलीसंग नेपालले खेल्ने छ। समुह ‘बी’को अर्को टोली पाकिस्तानले भने नाम दर्ता गराएर पनि सहभागिता भने जनाएको छैन। 

 

प्रकाशित: १३ मंसिर २०७६ ०८:४१ शुक्रबार

भलिबल सेमिफाइनलमा साग