खेल

पुलिसको साँघुरो जित

काठमाडौं – जावलाखेलमाथि साँघुरो जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब सोमबार तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

चन्द्रागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा जावलाखेलमाथि २–१ को साँघुरो जित निकाल्दै पुलिस प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो। पुलिस एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्न सफल भएको थियो। पुलिसको जितमा भोला सिलवाल र प्रवेश दनुवारले गोल गरे। जावलाखेलका विदेशी खेलाडी एडमा डम्बियाले गोल गरेका थिए। 

खेलको चौथो मिनेटमा नै डम्बियाको गोलबाट जावलाखेलले अग्रता लियो। पुलिस सम्हालिन नपाउँदै डम्बियाले हेडमार्पmत गोल गरेका थिए। यद्यपि, त्यो अग्रता जोगाउन नसक्दा जावलाखेलले हारसँगै प्रतियोगिताको यात्रा पनि टुङ्ग्यायो। पहिलो गोल गरेसँगै खेलमा हौसिएको जावलाखेलले पुलिसलाई दबाबमा राखे पनि थप गोल गर्न भने सकेन।

पुलिसले पहिलो हाफमा उल्लेख्य प्रदर्शन गर्न सकेको थिएन। त्यससँगै पुलिस पहिलो हाफमा १–० ले पछि प¥यो। तर, दोस्रो हाफमा भने उच्च प्रदर्शन गर्दै दुई गोल गर्न सफल भएपछि पुलिसले आगामी यात्रा तय ग¥यो। ५३औं मिनेटमा सुमन लामाको उत्कृष्ट मुभबाट भोला सिलवालले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए।

सुमनले मैदानको मध्यभागबाट चार खेलाडीलाई छक्याउँदै दिएको पास भोलाले सदुपयोग गरेका थिए। ७४औं मिनेटमा प्रवेश दनुवारले वान भर्सेस वानको अवस्थामा गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए। दोस्रो हाफमा भने जावलाखेलले उल्लेख्य प्रदर्शन गर्न नसक्दा पराजित हुन पुग्यो। पुलिसका नीरकुमार राई म्यान अफ दी म्याच घोषित भए।

उनले ५ हजार रुपैयाँ हात पारे। पुलिसले क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन च्यासल युथ क्लबसँग आगामी मंसिर ७ मा चुनौती प्रस्तुत गर्नेछ। मंगलबार संकटा र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच खेल हुने आयोजकले जनाएको छ। प्रतियोगितामा ‘ए’ डिभिजनका १० क्लब र आयोजकको दुई गरी १२ टोलीको सहभागिता छ।

प्रतियोगिताको विजेताले ६ लाख ५० हजार र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ। सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिताको अनुमानित लागत झन्डै ५० लाख रुपैयाँ रहेको छ। पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेका थिए।

 

 

प्रकाशित: ३ मंसिर २०७६ ०२:०९ मंगलबार

साँघुरो जित पुलिस_क्लब चन्द्रागिरि_नगरपालिका