खेल

थाई र भियतनामी खेलाडीलाई उपाधि

काठमाडाैँ – थाइल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक महिलातर्फ र भियतनामका काव सुओङ फाम पुरुषतर्फ योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज २०१९ को उपाधि जितेका छन्।

आइतबार सम्पन्न फाइनलमा महिलातर्फ विजेता बन्ने क्रममा पोर्नतिपले कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ ले निराश पारिन्। यता पुरुषतर्फ प्रतियोगितामा छैठाैँ वरीयता पाएका भियतनामका फामले आठौं स्थान प्राप्त थाइल्यान्डका अदुलराच नामकुललाई २४–२२, ९–२१, २१–१९ ले हराउँदै उपाधि जितेका हुन्।

पुरुष तथा महिला एकलतर्फका विजेताले नगद १ हजार ८ सय ७५ युएस डलर र उपविजेताले ९ सय ५० डलरसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे। महिला युगलतर्फ अस्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्लेले उपाधि उचाले। प्रतियोगितामा पहिलो वरीयता प्राप्त अस्ट्रेलियन जोडीले फाइनलमा चौथो स्थानका मनीषा के. र रुतापर्ना पान्डाको जोडीलाई २१–१०, १८–२१ र २१–११ ले पराजित गरे। यस्तै पुरुष युगलतर्फ आत्री मनु र रेड्डी बी. सुमिथको जोडीले भारतकै एम.आर. अर्जुन र ध्रुव कपिलाको जोडीलाई २१–१९, २१–१५ ले पन्छाउँदै उपाधि उचाले।

मिश्रित युगलतर्फ थाइल्यान्डका सुपार्क जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडीले कोरियाका ना सुङ सिउङ र किम मिन जीको जोडीलाई पराजित गर्दै उपाधि हात पा¥यो। थाई जोडीले कोरियन जोडीलाई २१–१८, २१–१६ ले पराजित गरेको हो। विजयी पुरुष तथा महिला जोडी र मिश्रित जोडीले नगद १ हजार ९ सय ७५ डलर, उपविजेताले ९ सय ५० डलर, तेस्रोले ३ सय ५० डलर प्राप्त गरे।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र  नेपाल लन टेनिस संघकी अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणालगायतले पुरस्कार वितरण गरेका थिए। पाँच दिनसम्म चलेको प्रतियोगितामा २१ राष्ट्रका १ सय ४९ खेलाडीको सहभागिता थियो। पहिलो पटक नेपालले आयोजना गरेको च्यालेन्जको पुरस्कार राशि २५ हजार डलरको थियो।

पुरुष तथा महिला एकलतर्फका विजेताले नगद १ हजार ८ सय ७५ युएस डलर र उपविजेताले ९ सय ५० डलरसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे।

 

प्रकाशित: २ मंसिर २०७६ ०४:२२ सोमबार

खेलाडी उपाधि