खेल

थाई र कोरियन खेलाडी उपाधिनजिक

काठमाडौं – थाइल्यान्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र कोरियाकी गा युन पार्क योनेक्स सनराइज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०१९ को महिला एकलमा उपाधि नजिक पगेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा पोर्नतिपले जापानकी रिको गुन्जीलाई २१–१७, २१–१५ ले पराजित गर्दै उपाधिनिकट पुगेकी हुन्। अब पोर्नतिपले उपाधिका लागि कोरियाकी गा युन पार्कसँग प्रतिस्पर्धा गर्नेछिन्। गा युनले जापानकी आकारी नाकासिजुलाई २१–१८, २१–१९ ले पन्छाउँदै फाइनल प्रवेश गरेकी हुन्।

पुरुष एकलमा भने भियतनामका काव सुओङ फाम भारतका सिरिल बर्मालाई २१–११, २१–१६ ले पराजित गर्दै उपाधिनजिक पुगेका हुन्। फाम प्रतियोगितामा छैटौं स्थानमा र बर्मा सातौं स्थान प्राप्त खेलाडी हुन्। अर्को खेलमा प्रतियोगितामा आठौं स्थानका अदुलराच नामकुल पाँचांै स्थानका क्यानडाका झिआउदोङ सेङलाई २१–१४, २१–१९ ले पन्छाउँदै फाइनलमा फामसँगको भिडन्त पक्का गरेका हुन्।

महिला युगलतर्फ अस्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्ले तथा भारतका मनीषा के. र रुतापर्ना पान्डाको जोडी उपाधिका लागि भिड्ने भएका छन्। प्रतियोगितामा पहिलो स्थान पाएका सेताना र ग्रोन्याको जोडीले थाइल्यान्डका रुइथाइचानोक लैसुवान र सुपामार्त मिङ्चुवाको जोडीलाई १८–२१, २१–१६, २१–१३ ले तथा चौथो स्थानका मनीषा र रुतापर्नाको जोडीले थाइल्यान्डकै चासिनी कोरेपाप र क्वान्छानोक सुजाइप्प्रापरतको जोडीलाई १७–२१, २३–२१, २१–१७ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्।

पुरुष युगलतर्फ भने भारतका खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो सेमिफाइनलमा भारतका अत्री मनु र रेड्डी बी. सुमिथको जोडीले कोरियाका किम दोक्योङ र किम सा राङलाई १८–२१, २१–१९, २१–१९ ले तथा भारतकै एम. आर. अर्जुन र ध्रुव कपिलाको जोडीले कोरियाका ना सुङ सिउङ र वाङ चानको जोडीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।

मिक्स युगलतर्फ थाइल्यान्डका सुर्पाक जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडी कोरियाका ना सुङ सिउङ र किम मिन जीको जोडीलाई २५–२३, २१–१०ले पराजित गर्दै फाइनल प्रवेश ग¥यो। यस्तै फाइनल प्रवेश गर्ने अर्को जोडीमा कोरियाका किम सा राङ र किम हा नाको जोडी रह्यो। राङ र नाको जोडीले भारतका रेड्डी बी सुमिथ र कुहो गार्गको जोडीलाई १५–२१, २२–२०, २१–१७ ले पराजित ग¥यो।

प्रतियोगिताको फाइनल खेल आइतबार १ बजेबाट सुरु हुने र प्रत्येक खेलको अन्त्यपश्चात् पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजक नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराए। पुरुष युगलतर्फ भने भारतका खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
 

प्रकाशित: १ मंसिर २०७६ ०४:३५ आइतबार

उपाधि राष्ट्रिय_खेलकुद_परिषद् गा_युन_पार्क_योनेक्स_सनराइज_नेपाल_अन्तराष्ट्रिय_च्यालेन्ज खेलाडी