खेल

मैत्रीपूर्ण क्रिकेटको उपाधि एमएसलाई

प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिरः नागरिक

वीरेन्द्रनगर- सुर्खेतमा जारी मैत्रीपूर्ण क्रिकेटको उपाधि एमएस क्रिकेट एकेडेमी सुर्खेतले जितेको छ। दाङको महाभद्रकाली क्रिकेट क्लबलाई ५१ रनले पछि पार्दै आयोजक एमएस एकेडेमी विजयी भएको हो।

टस जितेर ब्याटिङ गरेको एमएसले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९६ रनको लक्ष्य बनायो। जसमा यू–१९ का राष्ट्रिय खेलाडीसमेत रहेका रविन्द्रजंग शाहीले नायकत्वको भूमिका निभाए। जुन क्रममा ४३ बलमा ब्याटिङ गर्दै ८९ रन बनाए। अर्का ब्याट्सम्यान भविन सारु मगरले ३८ बलमा अर्धसतकीय पारी खेल्दै ५० रन पूरा गरे भने मोहन जिसीले १५ रन थपे। बलिङ गर्ने क्रममा महाभद्रकाली क्रिकेट क्लब दाङका बलर जम्बो मगर र राजेन्द्र शाहीले समान १÷१ विकेट लिए भने अन्य बलरले सफलता हात पार्न सकेनन्।

यस्तै लक्ष्य पछ्याउने क्रममा महाभद्रकाली क्रिकेट क्लब १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४४ रनमा सीमित रह्यो । महाभद्रकालीका ब्याट्सम्यान रिक्की शाहीले १३ बलमा सर्वाधिक ४१ रन प्रहार गरे भने दिवान पुन मगरले २७ रन मात्र जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत जोडेनन् ।सस्तैमा समेट्ने क्रममा एमएसका लोकेश जंग हमाल, जनक भण्डारी, प्रज्वल सिंजाली, मोहन जिसी र भरत बुढा सबै बलरले समान २÷२ विकेट लिएका थिए। खेलको म्यान अफ द म्याच रविन्द्रजंग शाही भए।

यस्तै सोमबार भएको एकदिवसीय खेलमा पनि एमएस क्रिकेट एकेडेमीले महाभद्रकाली क्रिकेट क्लब दाङलाई २ विकेटले हराएको थियो। उक्त खेलमा पनि एमएसका ब्याट्सम्यान रविन्द्रजंग शाहीले ४० बलमा सर्वाधिक ७७ रन प्रहार गरेका थिए।

एमएस क्रिकेट एकेडेमीको आयोजनामा मैत्रीपूर्ण प्रतियोगिता सोमबार र मंगलबार दुई दिनसम्म सञ्चालन भएको एकेडेमीका सञ्चालक मोहन शाहीले बताए। उनले सुर्खेतमा क्रिकेटको माहोल बढाउन एवम् क्रिकेटमा निखारता ल्याउन आगामी दिनमा पनि यस्ता प्रतियोगिता सञ्चालन गर्ने जनाए।

प्रकाशित: २६ कार्तिक २०७६ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App