खेल

विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब नेपालमा

काठमाडौं – विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) को टोली शनिबार नेपाल आएको छ। नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरअन्तर्गत एमसिसीको टोली नेपाल आएको हो।

एमसिसीको टोलीले एक साता नेपालमा बिताउनेछ। एक साता बसाईमा एमसिसीको टोलीले नेपाली राष्ट्रिय टोलीसँग ट्वान्टी–२०, एकदिवसीय र प्रथम श्रेणी क्रिकेट खेल्ने तालिका रहेको छ। एमसिसीसँगको खेलका लागि नेपालले नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा सबै खाले खेल खेल्नेछ।

एमसिसी र नेपालको राष्ट्रिय टोली मिश्रित टोलीले एक ट्वान्टी–२० पनि खेल्ने तालिका रहेको छ भने एमसिसीको टोलीले यु–१९ टोलीसँग एकदिवसीय र पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ। यसअघि एमसिसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो भने नेपालले पनि यस अघि नै एमसिसीको भ्रमण गरिसकेको छ।

नेपालमा तय भएको तालिकाअनुसार एमसिसीले कात्तिक १७ गते नेपाली यु–१९ र कात्तिक १८ गते राष्ट्रिय टोलीसँग कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा एकदिवसीय खेल्नेछ। यस्तै कात्तिक २० देखी २२ गतेसम्म राष्ट्रिय टोलीसँग तीन एकदिवसीय खेल त्रिवि मैदान र कात्तिक २३ गते एमसिसी र नेपालको मिक्स टोलीविरुद्ध यु–१९ टोलीसँग ट्वान्टी–२० खेल्नेछ।

कात्तिक २५ गते एमसिसीले पोखरा आमन्त्रित–११ र कात्तिक २६ मुख्यमन्त्री–११ सँग ट्वान्टी–२० खेल्ने तालिका रहेको छ। पोखरा आमन्त्रित र मुख्यमन्त्रीबीचको खेल भने पोखरा क्रिकेट मैदानमा हुनेछ। एक साता बसाईको क्रममा एमसिसीको टोलीले नेपाली राष्ट्रिय टोलीसँग ट्वान्टी–२०, एकदिवसीय र प्रथम श्रेणी क्रिकेट खेल्ने तालिका रहेको छ।

नेपाल र एमसिसीबीचको खेल तालिका 
एमसिसीविरुद्ध नेपाल यु–१९ (५० ओभर) – कात्तिक १७ गते
एमसिसीविरुद्ध नेपाल राष्ट्रिय टोली (५० ओभर)– कात्तिक १८
एमसिसीविरुद्ध नेपाली राष्ट्रिय टोली (तीन दिवसीय)– कात्तिक २० देखी २२ 
एमसिसी र नेपाल मिक्स टिमविरुद्ध यु–१९ टोली (ट्वान्टी–२०) – कात्तिक २३ 
एमसिसीविरुद्ध पोखरा आमन्त्रित–११ (ट्वान्टी–२०) – कात्तिक २५ 
एमसिसीविरुद्ध मुख्यमन्त्री–११ (ट्वान्टी–२०)– कात्तिक २६

प्रकाशित: १७ कार्तिक २०७६ ०३:४६ आइतबार

एमसिसी क्रिकेट ट्वान्टी–२०