खेल

नेपाल पुलिस क्लब फाइनलमा

भरतपुर - नेपाल पुलिस क्लब नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ सिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा संकटा क्लबलाई १–० ले पराजित गर्दै विभागीय टोली फाइनलमा पुगेको हो। मध्यान्तरअघिको प्रतिस्पर्धा गोलरहित बराबरीमा टुंगिएको थियो।

खेलको ७२औं मिनेटमा पुलिसका सौजन याक्खाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। सुमन लामाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलरक्षकले पन्च गरेपछि प्राप्त बललाई उनले सुन्दर गोलमा परिणत गरे। उनले गरेको एक मात्र गोल नै जितका लागि निर्णायक बन्यो। सौजनले खेलको म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ पुरस्कार पाए।

खेलको पहिलो हाफमा संकटाले पाएका सुन्दर मौका सदुपयोग गर्न सकेन। दोस्रो हाफ भने पुलिसले आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो। पुलिसले अब उपाधिका लागि कात्तिक ९ गते शनिबार चितवन–११ सँग प्रतिस्पर्धा गर्नेछ। चितवन त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको  हो।

नारायणगढ जेसिजको आयोजना, चितवन जिल्ला फुटबल संघको सहआयोजना र विकास सिल्ड समितिको सहयोगमा भएको फुटबल प्रतियोगितामा १० वटा टोलीको सहभागिता छ।

प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६ सय ६६ र उपविजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगिताको करिब ६० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। फाइनलका लागि दुई सय र तीन सय रुपैयाँ टिकट रहने प्रतियोगिताकाका मूल संयोजक कपिल श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ८ कार्तिक २०७६ ०२:५८ शुक्रबार

नेपाल_पुलिस_क्लब फाइनल