खेल

साफ यु १८ को उपाधि भारतलाई

काठमाडौं- नेपालमा सम्पन्न साफ अन्डर–१८ को उपाधि भारतले जितेको छ। काठमाडाैंको हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै सो उपाधि हात पारेको हो। यसअघि सम्पन्न दुई संस्करणमा नेपालले उपाधि जितेको थियो। तेस्रो संस्करणको उपाधि जितेसँगै भारतले साफ अन्डर–१८ च्याम्पियनसिपमा उपाधि जित्ने नयाँ टोली भएको छ।

भारतलाई जित दिलाउन बिक्रम प्रताप सिंह र रबि बहादुर रानाले एक एक गोल गरे। बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए। निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको पहिलो हाफमै ३ खेलाडीले रातो कार्ड सामना गर्दैै मैदान बाहिरिएका थिए।

सुरुआतबाट नै दबाबमा राखेको भारतले दोस्रो मिनेटमा प्रताप सिंहको गोलबाट अग्रता लिन सफल भएको थियो। खेलको २२ औं मिनेटमा भारत र बंगलादेशका एक÷एक खेलाडी झगडामा उत्रिएपछि रेफ्रिले उनीहरुलाई रातो कार्डको दर्शन गराउँदै मैदान बाहिर पठाएका थिए। भारतका गुर्किरात सिंह र बंगलादेशका मोहमद रिडोयलाई दोस्रो पहेलो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका हुन्। पछि परेको बंगलादेशले खेलमा फर्किन आक्रामक खेल्दा ३८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो। अर्फातीले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए। बराबरी गोल फर्काएपछि खुसी मनाउने क्रममा जर्सी फुकालेपछि दोस्रो पहेलो कार्डसहित रातो कार्ड पाउँदा उनि मैदानबाट बाहिरिएका थिए। जुन बंगलादेशका लागि महंगो सावित हुन पुग्यो।

दुई खेलाडीले रातो कार्डको सामना गर्दै मैदान बाहिरिँदा ९ खेलाडीमा सिमित बनेको बंगलादेश विरुद्ध कम खेलाडी भएको फाइदा भारतले इन्जुरी समयमा मात्र लिन सफल भयो। थपिएको समयमा भरत रानाले गोल गर्दै टोलीको जित लाई निश्चित गरे। उनको त्यो गोल सँगै भारतले उपाधि उचाल्न सफल भयो।

प्रतियोगिता अन्तर्गत आइतबारै तेस्रो स्थानका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको प्रतिस्पर्धामा माल्दिभ्सले भुटानलाई १–० ले पराजित गर्यो। माल्दिभ्सको जितमा इब्राहिम इमरानले ७५ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो।

एन्फाले सहभागित ६ टोलीलाई दुई समूहमा विभाजन लिगकम नकआउट प्रणालिमा  लिग सञ्चालन गरेको थियो। प्रतियोगितामा गत अघिल्ला दुई संस्करणको उपाधि विजेता नेपाल समूह चरणबाट बाहिरिएको थियो। नेपाल समूह चरणबाटै बाहिरिएसँगै मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले राजीनामा दिएका थिए। 

प्रकाशित: १२ आश्विन २०७६ १६:१५ आइतबार

साफ_यु_१८ भारत उपाधि