खेल

दुवै टोलीलाई इतिहास रच्ने मौका

काठमाडौं – तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप उपाधिका लागि आइतबार भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दै छन्। हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने उपाधि भिडन्त दुवै टोलीलाई इतिहास रच्ने मौका हुनेछ। यसअघि सम्पन्न दुई संस्करणमा विजेता बनेको नेपाल समूहचरणबाटै बाहिरिँदा आइतबार हुने फाइनल भिडन्तमा नयाँ च्याम्पियन हुने पक्का भएको हो।

सेमिफाइनलमा प्रतिद्वन्द्वीलाई समान ४–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका दुवै टोलीको लक्ष्य उपाधि उचाल्ने छ। शनिबार भएको प्रि–फाइनल कन्फरेन्समा दुवै टोलीका कप्तानले उपाधि उचाल्न आफू आतुर रहेको प्रतिक्रिया दिए।

भारतबाट पहिलो रोजाइका गोलकिपर तथा नियमित कप्तान अनुपस्थित रहनेछन्। पहिलो रोजाइका गोलकिपर प्रभ्सुखान सिंह समूह चरणको पहिलो खेलमा घाइते भएका थिए। उनको अनुपस्थितिमा जितेन्द्र सिंहले भारतको कप्तानी गर्नेछन्। भारतले समूहचरणमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई ३–० ले हराएको थियो। सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ४–० ले हराएको थियो। त्यसैले भारत फाइनलमा उच्च मनोबलका साथ मैदान उत्रनेछ।

बंगलादेशले समूहचरणमा श्रीलंकालाई ३–० ले नै हराएको थियो। समूहचरणमा भारतसँग बराबरी खेलेको बंगलादेशले सेमिफाइनलमा भुटानमाथि ४–० को फराकिलो जित निकालेको थियो। भारतविरुद्ध उपाधिका लागि मैदान उत्रिँदा बंगलादेश अघिल्ला खेलको लयलाई निरन्तरता दिन चाहन्छ।

फाइनल खेल आइतबार दिउँसो २ः३० बजे हलचोकस्थित एपिएफ क्लबको मैदानमा हुनेछ। यस्तै एन्फा कम्प्लेक्समा भुटान र माल्दिभ्सबीच तेस्रो स्थानका लागि १०ः३० बजे खेल हुनेछ।
 

प्रकाशित: १२ आश्विन २०७६ ०१:०९ आइतबार

साफ_यु–१८_च्याम्पियनसिप उपाधि