खेल

हरिलाई खुला दौडको उपाधि

काठमाडौं – आर्मीका  हरि रिमालले शनिबार टिभिएस खुला दौड प्रतियोगिताको उपाधि  जितेका छन्। आर्मीको वर्चस्व रहेको दौडमा उपाधिविजेता रिमालले २६ मिनेट २९.८१ सेकन्डमा दूरी पार गरेका थिए। विजेता रिमालले ५० हजार रुपैयाँ प्राप्त गरे।

दोस्रो स्थानमा रहेका दीपक अधिकारी १.४ सेकेन्डले मात्र पछि परेका थिए। उनले उक्त दूरी पार गर्न २६ मिनेट ३०.८५ सेकेन्डको समय खर्चेका थिए। तेस्रो स्थानमा रहेका आर्मीकै गजेन्द्र राईले २६ मिनेट ३५.९० सेकेन्डमा दूरी पार गरे।

उपविजेता अधिकारीले २५ हजार र तेस्रो स्थान हात पारेका गजेन्द्रले नगद १५ हजार रुपैयाँ प्राप्त गरेका थिए। उक्त दौडमा ५ वर्षका बालक नेबिस रौनियार पनि सहभागी भएका थिए।  युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले उद्घाटन गरेको ८ किमि खुला दौड नक्सालको बालमन्दिर हुँदै सिटिसेन्टर, कमलपोखरी, पुतलीसडक, भृकुटीमण्डव, थापाथली, त्रिपुरेश्वर,सुनधारा, दरबारमार्ग, नागपोखरी हुँदै नक्सालको टिभिएस सोरुममा आएर समाप्त भएको थियो।

विजेता खेलाडीलाई आयोजक जगदम्बा मोटर्स प्रालिका उपाध्यक्ष दीपक अग्रवाल, ओलम्पियन एवं कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, अल्ट्राधाविका मीरा राई, आयोजक जगदम्बा मोटर प्रालिका बजार प्रमुख नवराज कोइरालालगायतले पुरस्कृत गरेका थिए। जगदम्बा मोटर प्रालिको पाँचौं वार्षिकोत्सवका अवसरमा नेपालको सातै क्षेत्रमा दौड आयोजना गरिने बजार प्रमुख नवराज कोईरालाले जानकारी गराएका छन्।

प्रकाशित: २९ भाद्र २०७६ ०२:१५ आइतबार

आर्मी उपाधि