खेल

तारादेवी र पुकार स्ट्रंगेस्ट खेलाडी

काठमाडौं – नेपाल प्रहरीकी तारादेवी पुन र नेपाली सेनाका पुकार गुरुङ नेपाल स्ट्रंगेस्ट तेस्रो ओलम्पियन सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रंगेस्ट खेलाडी घोषित भएका छन्।

उनीहरूले स्ट्रंगेस्टको ब्यानेटका साथै ट्रफी, प्रमाणपत्र र नगद १० हजार प्राप्त गरे। पुरुषतर्फ बेस्ट लिफ्टर सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश केसी तथा महिलातर्फ सिनियरमा संगीता राई र जुनियरमा सञ्जु चौधरी घोषित भए।

पुरुषतर्फ बाँकेका तुषार बुढामगर तथा महिलामा बर्दियाका नन्दा थापामगर उदीयमान खेलाडी घोषित भए। बुधबार ढिलो गरी सम्पन्न प्रतियोगिताको पुरुष १ सय ९ केजीमाथिको तौलमा स्ट्रंगेस्ट खेलाडी सेनाका पुकारले तीनै विधामा राष्ट्रिय कीर्तिमान कायम गरे। उनले आफ्नै नाममा आठौं राष्ट्रिय खेलकुदमा राखेको स्स्न्याचमा १ सय २६ केजीमा सुधार गर्दै १ सय २७ केजी र क्लिन एन्ड जर्कमा १ सय ५० केजीमा सुधार गर्दै १ सय ५१ केजी भार वहनका साथ कुलमा पनि २ सय ७६ बाट २ सय ७८ केजीका साथ कीर्तिमान राखेका हुन्। दोस्रो स्थानमा रहेका नेपाल पुलिसका राजीव महर्जनले स्न्याचमा ९५ र क्लिनमा १ सय १७  गरी कुलमा २ सय १२ केजी उचाले।

१ सय ९ केजी तौलमा सिनियरमा पुलिसका सन्देश गुरुङले स्न्याचमा १ सय ६, क्लिनमा १ सय ३५ गरी कुल २ सय ४१ केजी उचाले। उनले स्न्याचमा आफ्नै नाममा रहेको १ सय केजी तौलमा सुधार गर्दै १ सय ६ केजी भार उचालेका थिए। जुनियरतर्फ कञ्चनपुरका सागर भण्डारीले क्लिन एन्ड जर्क र कुलमा कीर्तिमान बनाए। उनले क्लिनमा सन्देशको नाममा रहेको १ सय ३८ केजीलाई उछिन्दै १ सय ४७ केजी र कुलमा सन्देशकै नाममा रहेको २ सय ३८ केजीलाई उछिन्दै २ सय ४७ केजीका साथ कीर्तिमान राखेका हुन्। सागरले स्न्याचमा १ सय ५ केजी भार उचाले।

१ सय २ केजीमा कञ्चनपुरका सुभाष उपाध्यायले तीनै विधामा कीर्तिमान राखे। स्न्याचमा १ सय ३, क्लिनमा १ सय ३० र कुलमा २ सय ३३ केजी उचाले। यसअघि सागर भण्डारीले आठौं खेलकुदमा स्न्याचमा १ सय २, क्लिनमा १ सय २२ र कुलमा २ सय २४ केजीको कीर्तिमान राखेका थिए। दोस्रो भएका रोशन विकले ७०, १ सय र १ सय ७० केजी उचाले।

९६ केजी तौलमा नेपाल पुलिसका गगन चन्दले स्न्याचमा ९८, क्लिनमा १ सय ३० र कुलमा २ सय ३८ गरी स्वर्ण, पुलिसकै श्रीकृष्ण महर्जनले स्न्याचमा ९०, क्लिनमा १ सय १० र कुलमा १ सय ९८ केजीका साथ रजत तथा एपिएफका देवेन्द्र विकले स्न्याचमा ८५, क्लिनमा १ सय ७ र कुलमा १ सय ९२ केजीका साथ कांस्य पाए।

राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीहरूले नगद १ हजार प्राप्त गरे। पुरुषतर्फ २४ र महिलातर्फ २३ राष्ट्रिय कीर्तिमान कायम भएका थिए। उदीयमान तथा बेस्ट लिफ्टरले प्रमाणपत्र र ट्रफी प्राप्त गरे। तीन विभागीय टोलीसहित जिल्ला तथा क्लबका करिब १ सय खेलाडीहरुले ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

 

प्रकाशित: ३१ श्रावण २०७६ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App