खेल

जिम्मेवारी यथावत् रहने दाबी

कोलम्बो – श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक चण्डिका हाथुरुसिंघाले विश्वकपमा खराब नतिजाका बावजुद आफ्नो जिम्मेवारी यथास्थितिमा रहने बताएका छन्। विश्वकपको लिगचरणबाटै श्रीलंका बाहिरिएपछि प्रशिक्षक चण्डिकालाई बर्खास्त गर्नुपर्ने दबाब आइरहेकै समयमा श्रीलंकाका वर्तमान प्रशिक्षकले आफ्नो जिम्मेवारी रहिरहने विश्वास व्यक्त गरेका हुन्। यद्यपि, श्रीलंकाली क्रिकेटका एक अफिसियलका अनुसार पछिल्लो समय चण्डिकालाई श्रीलंकाको प्रशिक्षकबाट हटाउने तयारी भइरहेको छ।

न्युजिल्यान्डसँग १० विकेटको हार बेहोर्दै विश्वकपमा खराब सुरुआत गरेको श्रीलंका १० टोली सहभागी लिगमा छैटौं भएको थियो। त्यस क्रममा श्रीलंकाले तीन जित निकाल्दा दुई खेल भने वर्षाका कारण हुन सकेन। श्रीलंकाले तीन जितमध्ये एक घरेलु टोली इङ्ल्यान्डविरुद्ध निकालेको थियो। एकदिवसीय क्रिकेटमा शीर्ष स्थानको टोली इङ्ल्यान्डलाई हराउँदा श्रीलंकामाथिको आलोचना पनि कम भएको थियो।

श्रीलंकाका खेलकुदमन्त्री हरिन फर्नान्डो विश्वकपमा आफ्नो टोलीको प्रदर्शनलाई लिएर प्रशिक्षक चण्डिकाप्रति निकै रुष्ट भएको श्रीलंकाका स्थानीय सञ्चारमाध्यमले जनाइरहेका छन्। त्यसैले मन्त्री फर्नान्डोले छिट्टै नयाँ कदम चाल्ने सञ्चारमाध्यमको दाबी छ। स्वदेश फर्किनेबित्तिकै प्रशिक्षक चण्डिकाले कोलम्बोमा आफूले आशाभन्दा पनि टोलीबाट राम्रो नतिजा दिलाउन सफल भएको दाबी गरेका छन्। त्यसैले प्रशिक्षक चण्डिका आफ्नो सम्झौता अवधिसम्म टोलीमा रहनेमा आशावादी देखिएका छन्। ‘श्रीलंकाको टोलीसँग अझै १६ महिनाको सम्झौता अवधि बाँकी छ,’ प्रशिक्षक चण्डिकाले भने, ‘मलाई आशा छ, त्यस समयसम्म टोलीमै रहनेछु। प्रशिक्षक चण्डिकाले सेमिफाइनलमा नपुग्नु नै मुख्य कारण रहेमा त्यसप्रति टोलीका सबै व्यवस्थापक बराबर भागीदार हुनुपर्ने बताए।

‘जे भए, त्यसमा सबै दोषी छन्। सबैले बराबर जिम्मेवारी लिनुपर्दछ,’ श्रीलंकाका प्रशिक्षक चण्डिकाले भने, ‘हामी सबैले योभन्दा उत्कृष्ट प्रदर्शन आशा गरेका थियौं। यस विश्वकपमा पनि मैले आफ्नो उत्कृष्ट क्षमता प्रयोग गरेको थिएँ। तर, आशाअनुरूप हुन सकेन। यसैबाट सबैले पाठ सिकेर अगाडि बढ्नुपर्नेछ। मेरो योजना पनि त्यही हो।’ यता, श्रीलंका क्रिकेट बोर्डका एक वरिष्ठ अधिकारीले तीन महिनाभित्र प्रशिक्षण क्षेत्रमा परिवर्तन आउने बताएका छन्। ‘हामी तीन महिनाभित्र प्रशिक्षण टोलीमा परिवर्तन गर्ने योजनामा छौं,’ ती अधिकारीले भने,‘तर, फिल्डिङ प्रशिक्षक स्टिभ रिक्सन, ब्याटिङ प्रशिक्षक जोन लिविस र तीव्र गतिका बलिङ प्रशिक्षक रुमेश रत्नायकेको सम्झौता अवधि भने बढ्नेछ।’

प्रकाशित: २४ असार २०७६ ०१:५७ मंगलबार

चण्डिका_हाथुरुसिंघा जिम्मेवारी प्रशिक्षक