खेल

पुलिस स्तब्ध

नारायणगढको क्याम्पाचौरमा जारी भरतपुर गोल्डकपमा प्रतिस्पर्धा गर्दै खेलाडी। तस्बिरः सविता/नागरिक

चितवन - नारायणगढको क्याम्पाचौरमा जारी पहिलो सिएमएस भरतपुर गोल्डकपमा च्यासल युथ क्लबसँग नेपाल पुलिस क्लब पराजित भएको छ। बिहीबार भएको प्रतिस्पर्धामा २–१ को गोल अन्तरले च्यासल क्बल विजयी भएको हो।

खेलको पहिलो हाफको २७औं मिनेटमा सबि गुरुङले हेडिङमार्पmत गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए। त्यसअघि १६औं मिनेटमा च्यासलले पाएको फ्रिकिकमा वियिक वियिकको प्रहार गोल पोस्ट माथिबाट बाहिरिएको थियो। पहिलो हाफमा च्यासलले १–० को अग्रता जोगाइराख्यो।

दोस्रो हाफको १७औं मिनेटमा च्यासलका लागि सुसन लामाले १ गोल थपेका थिए। प्रतिस्पर्धात्मक बनेका दोस्रो हाफमा पुलिसका खेलाडीको धेरै प्रहार च्यासलका गोलकिपर दिनेश थापामगरले विफल बनाइदिए। पुलिसले सान्त्वना गोल फर्काउँदा अनुप लिम्बुले दोस्रो हाफको २७औं मिनेटमा गोल गरेका थिए।

खेलमा पुलिसका अनुप र च्यासलका नीरकुमार राईले पहेंलो कार्ड पाएका थिए। च्यासल क्लबका सबि गुरुङ म्यान अफ दी म्याच भए। शनिबार चितवन–११ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगितामा चितवनले यसअघि नुवाकोट ११ लाई ४–० ले पराजित गरेको थियो। आर्मी बाई पाएर एक चरण अघि आएको थियो। प्रतियोगिता जेठ ४ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २८ वैशाख २०७६ ०१:१३ शनिबार

भरतपुर_गोल्डकप नेपाल_पुलिस_क्लब च्यासल_क्बल