खेल

पुलिसलाई मेचीनगर गोल्डकप

दमक - विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई सडन डेथबाट हराउँदै नेपाल पुलिस क्लबले मेचीनगर गोल्डकपको उपाधि जितेको छ।सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक विकेश कुथुसँग ठोक्किँदै जाली चुमेको थियो।

सडन डेथमा आर्मीका विकास तामाङको प्रहार अकासिँदा  परियारको प्रहारले पुलिसलाई भाग्यमानी बनायो। परियारको प्रहार पोस्टमा लागेर फर्किए पनि आर्मीका गोलरक्षक कुथुको शरीरमा ठोक्किएपछि जाली चुमेको थियो। परियारको निर्णायक गोलको मद्दतले नै पुलिसले गत आठौं राष्ट्रिय खेलकुदको फाइनलमा आर्मीसँग बेहोरेको हारको बदलासमेत लियो।

त्यससँगै विजेता पुलिसले १० लाख १ हजार रुपियाँ जित्दा उपविजेता आर्मीले ५ लाख १ हजार रुपैयाँमा चित्त बुझायो। गत वर्षको तेस्रो सिजनको मेचीनगर गोल्डकपमा पनि आर्मीले पुलिसलाई सेमिफाइनलमा पाखा लगाएको थियो। उपाधि रक्षासँगै पुलिसले आर्मीसँग विगतमा भोगेको हारको बदला लियो। यसअघि निर्धारित ९० मिनेटभर दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो।

टाइब्रेकरमा पनि ३–३ को बराबरी भएपछि खेलको निर्णय सडनडेथतर्पm धकलियो। टाइब्रेकरमा पुलिसका सुमन लामा, कप्तान भरत शाह, रेजिन सुब्बाले गोल गरेका थिए भने अजित भण्डारी र आशिष गुरुङको प्रहार आर्मीका गोलरक्षक कुथुले रोके। आर्मीका नवयुग श्रेष्ठको प्रहार अकासिँदा जर्जप्रिन्स कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले रोक्न सफल भए। आर्मीका दीपकुमार लामा, टेकबहादुर बुढाथोकी र सन्तोष तामाङको प्रहारले जाली चुमेको थियो।

खेलको म्यान अफ द म्याच पुलिसका गोलरक्षक खड्का घोषित हुँदै नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए। उदीयमान खेलाडी काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका एन्जल गुरुङ, उत्कृष्ट गोलरक्षकमा पुलिसका शत्रुघ्न चौधरी, उत्कृष्ट डिफेन्स पुलिसकै आशिष गुरुङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सेसेहाङ आङदेम्बे, उत्कृष्ट स्ट्राइकर आर्मीका नवयुग श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्तराज थापा घोषित भए।

उत्कृष्ट सबैले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पुलिसका रवि पासवान घोषित हुँदै १ लाख १ हजार रुपैंया पुरस्कार पाए। वैशाख १२ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजकसहित पुलिस, आर्मी, संकटा, च्यासल, सुनसरी–११, माइभ्याली क्लब इलाम, पारो एफसी भुटान, क्यामरुनको दाउफिन्स एफसी र रुस्लान थ्री स्टार क्लबले प्रतिस्पर्धा गरेका थिए। परियारको निर्णायक गोलको मद्दतले नै पुलिसले गत आठौं राष्ट्रिय खेलकुदको फाइनलमा आर्मीसँग बेहोरेको हारको बदलासमेत लियो।

प्रकाशित: २२ वैशाख २०७६ ०१:५२ आइतबार

त्रिभुवन_आर्मी नेपाल_पुलिस_क्लब मेचीनगर_गोल्डकप