खेल

पुलिसको पहिलो जित

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी नेपाल बास्केटबल लिगमा पहिलो जित निकालेको छ।
महाराजगन्जस्थित नेपाल पुलिसको कोर्टमा भएको दिनको पहिलो खेलमा पुलिसले साउथ साइडर्स बास्केटबल क्लबलाई ७८–५८ को स्कोरले हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको हो। यसअघि सम्पन्न दुई खेलमा पराजित भएको पुलिले साउथ साइडर्समाथि पहिलो क्वार्टरमा २६–१२ फराकिलो जित निकालेको थियो।

पहिलो क्वार्टर गुमाएको साउथ साइडर्सले दोस्रो क्वार्टरमा १९–७ को स्कोर निकाल्दै खेलमा फर्किने संकेत देखाए पनि तेस्रो क्वार्टर २५–१४ स्कोरले गुमायो। अघिल्ला तीन क्वार्टरमध्ये दुईमा जित निकालेको पुलिसले अन्तिम तथा निर्णायक क्वार्टरमा २०–१३ को जित निकाल्दा समग्रमा ७८–५८ ले विजयी भयो। यससँगै चार खेल खेलेको साउथ साइडर्सले प्रतियोगितामा तेस्रो पराजय भोगेको छ। पुलिसको जितमा विकास गुरुङले सर्वाधिक २५ स्कोर गर्दै म्यान अफ दी म्याच घोषित भए।
प्रतियोगिताअन्तर्गत शनिबारै सम्पन्न दिनको दोस्रो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लबलाई हराउँदै लगातार पाँचांै जित निकाल्न सफल भएको छ।

भद्रकालीस्थित घरेलु कोर्टमा भएको खेलमा आर्मीले बुढानीलकण्ठमाथि ८६–४६ को फराकिलो अन्तरले हराएको हो। आर्मीको जितमा रोविन खत्रीले सर्वाधिक २८ स्कोर गरे। रोबिन म्यान अफ दी म्याच घोषित भए।

प्रतियोगितामा आइतबार एक खेल हुनेछ। बत्तीसपुतलीस्थित गोल्डेन गेट इन्टरनेसनल कलेजको कोर्टमा टाइम्स इन्टरनेसनल कलेजले प्रतिस्पर्धा गर्नेछ। लिगमा टाइम्स कलेज ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने गोल्डेनगेट ५ अंकका साथ चौथो स्थानमा छ।

प्रकाशित: २२ वैशाख २०७६ ०१:४९ आइतबार

नेपाल_पुलिस_क्लब नेपाल_बास्केटबल_लिग