खेल

मनाङको अंकखाता खुल्यो

काठमाडौं – पछि परेको अवस्थामा पुनरागमन गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी फुटबल क्लबले एएफसी कप प्रतियोगितामा अंकको खाता खोलेको छ।

भारतको उडिसास्थित कलिङ्ग रंगशालामा सम्पन्न खेलमा मनाङले भारतको आई–लिग च्याम्पियन मिनेर्भा पन्जाबसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्दा तालिकामा एक अंकको खाता खोल्न सफल भएको हो। मनाङसँग बराबरी खेलेको मिनेर्भाले यससँगै प्रतियोगितामा तेस्रो बराबरी खेलेको छ।

समूह ‘ई’ अन्तर्गत यसअघि भएका दुई खेलमा पराजित भएको मनाङ अघिल्लो चरण प्रवेशका लागि गर या मरको अवस्थामा मैदान उत्रिएको थियो। प्रतियोगिताको पहिलो खेलमा मनाङले अवहानी ढाकालाई काठमाडौंमा भएको खेलमा १–० को नतिजा सुम्पिएको थियो भने दोस्रो खेलमा भारतकै आएसएल लिगको विजेता चेन्नईइनसँग २–० ले पराजित भएको थियो।

भ्रमणकारी टोली मनाङविरुद्ध सुरुआतबाट नै आक्रामक देखिएको मिनेर्भाले आठौं मिनेटमा गोल गर्दै सुरुआती अग्रता लिएको थियो। मिनेर्भाका श्रेयस गोपालनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पछि परेको अवस्थामा सम्हालिएर खेलेको मनाङले ३५आंै मिनेटमा पेनाल्टीको अवसर पाए पनि सदुपयोग गर्न सकेन। विपक्षी खेलाडी अरसप्रीत सिंहले मनाङका खेलाडी अफिज ओलावालेलाई खराब फाउल गरेपछि प्राप्त अवसरमा सुजल श्रेष्ठ चुक्दा मनाङले पहिलो हाफमा बराबरीको अवसर गुमाएको थियो।

पहिलो हाफमा १–० ले पछि परेको मनाङले दोस्रो हाफमा संयमित भएर खेल पस्कियो। ६९औं मिनेटमा मनाङका अभिशेक रिजालले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याए। सम्पन्न दुई खेलमध्ये दुवैमा पराजित भएको मनाङ त्यसपछि आक्रामक देखिए पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न असफल रह्यो। खेल सकिन ४ मिनेट बाँकी रहँदा कप्तान विराज महर्जनले मिनेर्भाका खेलाडीलार्ई पेनाल्टी बक्सभित्र तानेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो। नुरेन करिमले पेनाल्टीलाई सहजै सदुपयोग गर्दै पुनः टोलीलाई २–१ को अग्रतातर्फ डो¥याएका थिए। पछि परेसँगै खेलमा फर्किन निकै संघर्ष गरेको मनाङले अन्तिम मिनेटमा पुनः बराबरी गोल फर्काउन सफल भयो। मनाङका कमल श्रेष्ठले दिएको लामो एयर बललाई एडिलेजाले हेडरमार्फत गोल गर्दै मनाङलाई पुनः बराबरीको अवस्थामा ल्याएका थिए।

प्रतियोगिताअन्तर्गत समूह ‘ई’ मा पहिलो अंक जोडेको मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाड्न परेको बताए। ‘हामी जितका लागि मैदान उत्रिए पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न सकेनौं। पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेको भए खेल हाम्रो पक्षमा पर्ने थियो,’ प्रशिक्षक लोप्साङले भने, ‘ओलावालेको खेल सोचेजस्तो राम्रो हुन सकेन। दोस्रो हाफमा रणनीति परिवर्तन गर्दा खेलमा फर्किन सफल भयौं। घरेलु टोलीलाई राम्रो चुनौती दिन सफल भयौं। अब काठमाडौंमा मनाङले सुखद नतिजा निकाल्नेमा म विश्वस्त छु।’
उता तेस्रो खेलमा पनि बराबरी खेलेको मिनेर्भा पन्जाबका प्रशिक्षक सचिन तनाजी बडाढेले आफ्नो टोलीले सोचेजस्तो खेल खेल्न नसकेको प्रतिक्रिया दिए।

‘सुरुआती अग्रतालाई हामीले कायम राख्न सकेनौं। मनाङलाई खुलेर खेल्ने अवसर धेरै दियौं अनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न सकेनौं,’ मिनेर्भा पन्जाबका प्रशिक्षक बडाढेले भने, ‘दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै खेल्ने प्रयास गरे पनि रणनीति सफल हुन सकेन। सबै खेलाडीले आफ्नो उत्कृष्ट खेल देखाए, यद्यपि स्कोर भने निस्किएन। आशा छ आउँदा तीन खेलमा राम्रो गर्नेछौं।’

समूह ‘ई’ मा भारतको आइएसएल लिग विजेता चेन्नेइइन ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। चेन्नेइइनले तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरी  खेलेको छ। उता तीनमध्ये एकमा जित, एकमा बराबरी र एकमा पराजित भएको ढाका अबहानी ४ अंकका साथ दोस्रो र तीन खेलमध्ये सबैमा बराबरी खेलेको मिनेर्भा ३ अंकका तेस्रो स्थानमा छ। मनाङ एक अंकका साथ तालिकाको अन्तिम स्थानमा छ।

विपक्षी खेलाडी अरसप्रीत सिंहले मनाङका खेलाडी अफिज ओलावालेलाई खराब फाउल गरेपछि प्राप्त अवसरमा सुजल श्रेष्ठ चुक्दा मनाङले पहिलो हाफमा बराबरीको अवसर गुमाएको थियो।

प्रकाशित: १९ वैशाख २०७६ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App