खेल

थ्री स्टार सेमिफाइनलमा

दमक - माइभ्याली क्लब इलामलाई १–० को झीनो अन्तरले पराजित गर्दै थ्री स्टार क्लब चौथो मेचीनगर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। थ्री स्टारले अब वैशाख १९ गते हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन क्लब काठमाडााैंको सामना गर्नेछ। जितका लागि थ्री स्टारका डिफेन्स अनन्त तामाङले खेलको ४१औँ मिनेटमा निर्णायक गोल गरेका थिए।

सुशील राईको क्रस पासमा तामाङले माइभ्यालीका गोलरक्षक सोजित गुरुङ बिट भएको अवस्थाको मौका पारेर प्रहार गरेको बल गोलपोस्टको दायाँ बारमा लागेर भित्र पसेको थियो। यस जितसँगै थ्री स्टारले विभागीय टोली आर्मीसँगको भेटलाई पक्का गरेको छ।

खेलको १७औँ मिनेटमा माइभ्यालीका राजीव लोप्चनको प्रहार गोलपोस्टमाथिबाट बाहिरियो। ३०औँ मिनेटमा कप्तान मनीष थापाको क्रसमा टु भर्सेस वानको अवस्थामा लोप्चनले पोस्टको दिशा दिन सकेनन्। ३४औँ मिनेटमा सुशील यादवको क्रसमा लोप्चनले अर्काे मौकालाई खेर फाले।

४५औँ मिनेटमा थ्री स्टारका कप्तानलाई फाउल हानेपछि माइभ्यालीका कप्तान मनीष थापाले पहेँलो कार्ड पाए। खेलको २२औँ मिनेटमा थ्री स्टारका सुनील बलको क्रसमा माइभ्यालीका एलोन म्याक्सवेलको प्रहार अकासियो।  पहिलो हाफभरि म्याइभ्यालीले थ्री स्टारलाई पूर्ण रूपमा दबाबमा राख्यो। माइभ्यालीले अधिकांश पोस्ट केन्द्रित आक्रमण गरे पनि स्कोर गर्न सकेन। अन्तत माइभ्याली घर फर्कन बाध्य भयो ।

खेलको ४६औं मिनेटमा थ्री स्टारका विदेशी खेलाडी एलोन म्याक्सवेलको प्रहारले पनि जाली चुम्न सकेन।  ५३औँ मिनेटमा मनसा वेभागुईको प्रहार पनि पोस्टमाथिबाट बाहिरियो। खेलको ६९औँ मिनेटमा थ्री स्टारका रूपेश केसीको क्रसमा सुशील राईको हेडरले समेत पोस्टको गन्तव्य पूरा गर्न सकेन। दोस्रो हाफमा लयमा फर्किएको थ्री स्टारले अन्ततः सेमिफाइनलको यात्रा तय गरेको हो।

खेलको म्यान अफ दी म्याच थ्री स्टारका सुशील राई भए। उनलाई आयोजकले प्रदान गरेको नगद ११ हजार रुपैयाँ मेचीनगर नगरपालिका खेलकुद विकास समितिका संयोजक  नवीन बरालले प्रदान गरेका थिए। पहिलो सेमिफाइनलमा बुधबार विभागीय टोली नेपाल पुलिस क्लबले सिएमजी संकटाको सामान गर्नेछ। पुलिसले पारो एफसीमाथि ३–० को सहज जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो।

यता संकटाले आयोजक मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ४–१ को गोलअन्तरले हराउँदै सेमिफाइनल स्थान पक्का गरेको थियो। वैशाख २१ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख १ हजार  रुपियाँ तथा उपविजेता टोलीले नगद ५ लाख १ हजार रुपियाँ पाउने आयोजक क्लबका कोषाध्यक्ष नोर्वु शेर्पाले बताए। १० टोलीको सहभागिता रहेको प्रतियोगिता वैशाख २१ गते सम्पन्न हुनेछ।

प्रकाशित: १८ वैशाख २०७६ ०२:४७ बुधबार

माइभ्याली_क्लब थ्री_स्टार_क्लब मेचीनगर_गोल्डकप