खेल

उपाधिका लागि रुस्लान थ्रीस्टार र बागमती नगरपालिका भिड्दै

फोटो क्याप्सन: प्रथम हुनेले प्राप्त गर्ने राजर्षि जनक कप सहित आयाेजक समितिका पदाधिकारी । तस्बीर: टंक क्षेत्री/नागरिक

सर्लाही– तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि हात पार्नका लागि आज रुस्लान  थ्रीस्टार क्लब काठमाडौं र सर्लाहीको बागमती नगरपालिका टिमबीच फाइनल भिडन्त हुँदैछ। दुबै टिम १० लाख नगद सहित राजर्षि जनक कपको प्रथम उपाधि चुम्नका लागि दिउँसाे ३ बजे  मैदानमा उत्रदैछन्। दोस्रो हुनेले ५ लाख रुपैयाँमै चित्त बुझाउनु पर्ने हुँदा हारसँगै ५ लाख रुपैयाँ नगुमाउने रणनीति दुवै टिमले अँगाल्ने निश्चित छ।

भुटानको बलियो टिम पारो फूटबल क्लब एवं फ्रेण्डस् क्लब काठमाडौंलाई हराउँदै फाइनल यात्रा तय गरेको वागमती र सशस्त्र प्रहरीको एपिएफ र बागमती निलोलाई पराजित गर्दै उपाधिको होडमा पुगेको  थ्रीस्टारबीचको खेल अत्यन्त प्रतिष्पर्धात्मक हुने देखिएको छ। नेपाली फुटबलमा क्षेत्रमा चर्चित थ्रीस्टारसँग भिड्ने बागमती नगरपालिका टिम भने विल्कुल नयाँ टिम हो। हालको राष्ट्रिय टिमका विक्रम लामा, अनन्त तामाङ्ग, रेजिन धिमाल, दिनेश राजवंशी, सुनिल बल, एलेन न्यौपाने तथा पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङ, रुपेश केसी सहित मैदानमा उत्रने थ्रीस्टार नयाँ वर्ष लागेसँगै पहिलो क्यापको रुपमा राजर्षि जनक कपको उपाधी चुम्ने दाउमा छ। यता चर्चित सेन्टर फरवार्ड विमल घर्ती मगर, राष्ट्रिय टोलीका सेन्टर डिफेन्स आदित्य चौधरी, डिफेन्स सरोज दाहाल, २ जना अफ्रिकन खेलाडी एवं स्थानीय स्तरमा राम्रा खेलाडी सहित मैदानमा उत्रने बागमती टिम आफ्नै आँगनमा रहेको राजर्षि कप बाहिर लैजान नदिने दाउमा छ।

'गतवर्ष ८ वटा क्याप भित्र्याएका थियौं, नयाँ वर्षको पहिलो क्यापको रुपमा राजर्षि जनक कप जसरी पनि भित्र्याउने पक्षमा छौं', थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले नागरिकसँग भने, 'विपक्षी टिमको दुईवटा खेल हेरिसकेकाले जितका लागि सोही अनुसारको रणनीति बनाएर मैदानमा उत्रन्छौं।'

यता बागमती नगरपालिका टिमका प्रशिक्षक सुदिप श्रेष्ठ राजर्षि जनक कप जसरी पनि भित्र्याउने गरी तयारी गरिएको बताउँछन्। 'फरक–फरक ठाउँबाट मगाइएका र स्थानीय खेलाडीबीच पहिलो खेलमा केही तालमेल नमिलेपनि बुधबार सेमिफाइनलमा भूटानको चर्चित पारो फुटबल क्लबसँग खेल्दा निकै सुधार भएकाले सहज जित हाँसिल भयोे', श्रेष्ठले दावी गरे, 'त्यसैले हामी आज दिउँसाे हुने फाइनलमा जितसँगै उपाधी हात पार्ने दाउमा छौं।' दर्शकको पनि उत्तिकै साथ रहने हुँदा आफ्ना खेलाडीले उच्च मनोवल सहित खेल्ने श्रेष्ठको दाबी छ। 

फाइनल खेल ५ हजार भन्दा बढी दर्शकले हेर्ने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए। प्रि–क्वाटरफाइनल, क्वाटरफाइनल र सेमिफाइनल खेलमा दर्शकका लागि सय रुपैंयाको टिकट रहेकामा फाईनलमा भने २०० रुपैंया तोकेको आयाेजक समितिका संयाेजक दिपक लामाले जानकारी दिए। चैत २५ गतेदेखि जारी प्रतियोगितामा साविक विजेदा सुदूरपश्चिम–११, एपिएफ क्लब काठमाडौं, फ्रेण्डस क्लब काठमाडौं, भुटानको पारो फुटबल क्लब, सरस्वती युवा क्लब, बागमती युवा क्लब निलो, हिमालयन शेर्पा क्लब काठमाडौं, मगमग झापा–११, लाली रुपन्देही–११, विरगंज युनाइटेड क्लब पर्साको सहभागिता रहेको थियो।

प्रकाशित: ६ वैशाख २०७६ ०८:०१ शुक्रबार

राजर्षि_जनक_कप फुटबल_प्रतियोगिता फाइनल