खेल

माइभ्याली गोल्डकप : हङकङविरुद्ध सुनीलको ह्याट्रिक

माइभ्याली गोल्डकपअन्तर्गत सोमबारको खेलमा भिड्दै हङकङ नेप्लिज एकाडेमी (नीलो जर्सी) र हिमालयन शेर्पा क्लबका खेलाडी।     तस्बिर : भीम/नागरिक

इलाम – सुनील खड्काको ह्याट्रिकसँगै हिमालयन शेर्पा क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ। हिमालयनले सोमबारको दोस्रो प्रि–क्वार्टरफाइनलमा ५–१ को फराकिलो अन्तरले हङकङ नेप्लिज एकाडेमीलाई पाखा लगायो। 

सदरमुकामको ठूलो टुँडिखेलमा पहिलो पटक सहभागी हिमालयनका सुनीलले विपक्षी हङकङका बलरक्षक अभिजित रोय बिट भएका दुवै अवसर सदुपयोग गरे। हिमालयनका प्याट्रिक प्रिभेट गोहको पासलाई सुनीलले खेल सुरु भएको दोस्रो मिनेटमै जाली चुमाउन सफल बने। हिमालयनकै निरोज बस्नेतले मैदानको मध्यभागबाट दिएको लामो पासलाई पुनः सुनीलले अर्काे गोल गरे। हिमालयनकै विदेशी खेलाडी ड्याड्डी वाम्बाले दिएको सर्ट पासलाई विसन गुरुङले विपक्षीको डी एरियाभन्दा निकै टाढबाट जाली चुमाए। दोस्रो हाफमा सुनीलले विसन गुरुङको पासमा हङकङविरुद्ध ह्याट्रिक पूरा गरे। सुनीलकै पासमा कप्तान मनबहादुर तामाङले हङकङविरुद्ध अर्काे गोल थपे। 

हिमालयन शेर्पाले सोमबारको दोस्रो प्रि–क्वार्टरफाइनलमा ५–१ को फराकिलो अन्तरले हङकङ नेप्लिज एकाडेमीलाई पाखा लगायो। 

पहिलो हाफमा ३–० को अन्तरले पछि परेको हङकङले दोस्रो हाफमा एक गोल फर्काए पनि जित सम्भव भएन। हङकङका उत्तम गुरुङले दिएको सुन्दर पासलाई सदुपयोग गर्दै समीर लिम्बुले हिमालयनविरुद्ध सान्त्वना गोल फर्काए। खेलमा दुवै टोलीले अगाडि आएका दर्जनौं अवसर गुमाएका थिए। हङकङका कप्तान आर्यन राईले विपक्षी बलरक्षक किशोर गिरीसँग दुई पटक वान भर्सेस वानमा पाएको अवसरसमेत चुकाए। त्यही टोलीका विदेशी खेलाडी एग्बुल्लाले विपक्षीको गोलपोस्टनजिकै पाएको अवसर सदुपयोग गर्न सकेनन्। हङकङकै आशिष चापागाईंले दिएको सुन्दर पास निश्चल तुलाचनले विपक्षीविरुद्ध परिणाममूलक प्रहार गर्न सकेनन्। सोमबारको खेलको म्यान अफ दी म्याच हुँदै हिमालयनका सुनीलले नगद १० हजार हात पारे। 

हिमालयन शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले आफूहरूको रणनीतिले हङकङलाई निकै दबाबमा राख्दा सफलता पाएको बताए। ‘झापामा हङकङको खेल हेरेका थियौं, त्यहीअनुसार रणनीति बनाएका थियौं,’ उनले भने, ‘सोमबारको खेलमा खेलाडीबीच राम्रो कम्बिनेसन हुन सके पनि अब सुधार गर्नुपर्ने पक्ष दर्जनौं छन्।’ हङकङका टिम म्यानेजर नवीन राईले आफ्ना खेलाडी शारीरिक रूपमा अस्वस्थ रहेकाले टोलीले हार बेहोर्नुपरेको बताए। ‘हाम्रा खेलाडीले धेरै अवसर नपाएका होइनन् तर धेरै खेलाडी शारीरिक रूपमा अस्वस्थ रहेकाले दमदार प्रदर्शन गर्न सकेनन्,’ उनले भने। 

मंगलबारको पहिलो क्वार्टरफाइनल नेपाल पुलिस क्लब र भारत दार्जिलिङको दार्जिलिङ युनाइटेडबीच हुने आयोजकले जनाएको छ। पुलिस इलाममा यसअघि सञ्चालित भूकम्प स्मृति कपमा ३ पटक विजेता बनेको थियो। दार्जिलिङ युनाइटेडले उद्घाटन खेलमा आयोजक माइभ्याली फुटबल क्लबलाई १–० गोलअन्तरले पाखा लगाएको थियो।  

प्रकाशित: २८ फाल्गुन २०७५ ०४:०३ मंगलबार

सुनील_खड्का ह्याट्रिक माइभ्याली_गोल्डकप हिमालयन_शेर्पा_क्लब