खेल

अन्तिम चार टोलीको टुंगो

काठमाडौं – सातदोबाटो युथ क्लबले सोमबार सहिद स्मारक ‘बी’ डिभिजन लिगको फाइनल चरणमा स्थान बनाएसँगै अन्तिम चरणका लागि चार टोलीको टुंगो लागेको छ।

सातदोबोटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको पहिलो चरणको लिगको अन्तिम खेलमा नयाँ बस्ती युवा क्लबलाई ३–१ ले हराउँदै सातदोबाटो कुल ११ अंकसहित समूह ‘ए’ बाट अन्तिम चारमा पुगेको हो। सोही समूहबाट ८ अंक बटुल्दै आरसिटी यसअघि नै दोस्रो चरणमा पुगिसकेको छ। 

सोही समूहमा झम्सीखेल युथ क्लबको समान ८ अंक भए पनि गोलअन्तरको आधारमा पछि पर्दै पहिलो राउन्डबाटै बाहिरियो। समूह ‘बी’ बाट यसअघि नै टुसाल युवा क्लब ११ अंक र श्रीभगवती क्लब १० अंकसहित दोस्रो चरणमा पुगिसकेका छन्। दोस्रो चरणमा एक टोलीले तीन खेल खेल्नेछन्। 

लिगमा शीर्ष वरीयता प्राप्त गर्नेले उपाधि जित्नेछ। दोस्रो चरणमा सहभागी चारै क्लबले नगद पुरस्कार प्राप्त गर्नेछन्। सोमबार सातदोबाटोको जितमा निरज महर्जनले ११औं, विमल केसीले ६०औं र रमेशकुमार राजवंशीले ८७औं मिनेटमा गोल गरेका थिए। नयाँ बस्तीको लागि ३५औं मिनेटमा साजन राईले गोल गरेका थिए। 

सोही दिनको अर्को खेलमा खुमलटारले स्पार्क हस्पिटल बाँसबारीलाई २–१ ले स्तब्ध बनाउँदै समूहको अन्तिम स्थानबाट बच्यो। खुमलटारका लागि ३३औं मिनेटमा सबिन केसी र ७०औं मिनेटमा निर्मल गुरुङले गोल गरेका थिए। बाँसबारीका लागि ५८औं मिनेटमा दिनेश कार्कीले गोल फर्काए। 

हारसँगै बाँसबारी समूह ‘बी’ को अन्तिम स्थानमै सीमित भयो। दुई समूहमा लिगको अन्तिममा रहने टिमको १÷१ अंक घटाइनेछ भने तयारीबापत दिइएको रकमबाट ५० हजार कटाइने एन्फाले जनाएको थियो। ए’ डिभिजनजस्तै रेलिगेसनबिना जारी ‘बी’ डिभिजन लिगको पहिलो चरणमा १२ क्लबले प्रतिस्पर्धा गरेका थिए। 

पहिलो चरणमा दुई समूहमा विभाजन गरी लिग प्रणालीमा सञ्चालन भएको थियो। सोहीअनुसार समूह ‘ए’बाट नयाँ बस्ती र ‘बी’ बाट बाँसबारीले अर्को वर्ष समान माइनस १ अंकका साथ लिगको सुरुआत गर्नेछन्। ‘बी’ डिभिजनको लिग विजेताले नगद ८ लाख रुपैयाँ प्राप्त गर्नेछ।

यस्तै उपविजेताले ५ लाख, तेस्रो हुनेले ३ लाख र चौथो हुने टोलीले २ लाख पाउनेछन् भने प्रतियोगिताको तयारीका लागि प्रत्येक टोलीलाई ७/७ लाख रुपैयाँ प्रदान गर्नेछ। विधागततर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार प्राप्त गर्नेछन्।

प्रकाशित: १४ फाल्गुन २०७५ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App