खेल

ब्वाइज युनियनले खाता खेल्यो

काठमाडौं – खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो पराजय भोग्दा ब्वाइज युनियनले सातदोबाटो क्लबसँग बराबरी खेल्दै अंकतालिकामा खाता खोलेको छ। 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बुधबार भएको खेलमा खुमलटार श्री भगवती क्लबसँग ५–० ले स्तब्ध भयो । यसअघि भक्तपुरको मध्यपुर युथसँग टोली ३–२ ले पराजित भएको थियो। उता बराबरी खेल्दै अंक बाँडेको ब्वाइज युनिनले सातोबाटोसँग १–१ गोलको बराबरी खेलेको थियो। 

खुमलटारविरुद्ध फराकिलो जित निकाल्दै लिगमा पहिलो जित निकालेको भगवतीका लागि गोविन्दप्रसादले पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफको अग्रतापछि उच्च मनोबलमा रहेको भगवतीले दोस्रो हाफमा चार गोल थप्यो। भगवतीका लागि ४९औं मिनेट दर्शन गुरुङले दोस्रो गोल गरे भने अनिल राना मगरले ५६औं मिनेटमा तेस्रो, अन्जेस लामाले ७५औं मिनेटमा चौथो र कार्लोस बाखरियाले ८२औं मिनेटमा पाँचौं गोल गरे। 

यसअघि टुसाल युथ क्लबसँग १–० को झीनो अन्तरले पराजित भएको भगवतीले दोस्रो खेलबाट अंकतालिकामा ३ अंक जोडेको छ।  लगातार पराजित खुमलटार भने तालिकामा अंकविहीन छ।

लिगअन्तर्गत बुधबारै सम्पन्न अर्को खेलमा अंक बाँडेको सातदोबाटो युथ क्लबको तालिकामा ४ अंक भएको छ। पहिलो खेलमा श्री कुमारी क्लबमाथि २–१ को जित निकाल्दै ३ अंक जोडेको सातदोबाटोले बुधबार अंक बाँड्दा ४ अंक भएको हो भने ब्वाइज युनियनले अंकतालिकामा एक अंकको खाता खोलेको हो। 

एन्फाकै मैदानमा भएको दिनको दोस्रो खेलमा सातदोबाटो सुरुआती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो। सातादोबाटोका लागि वीरेन्द्र लिम्बुले पहिलो हाफमा दिलाएको अग्रता ५४औं मिनेटमा बराबरी भएको थियो। ब्वाइज युनियनका लागि सुशन लामाले गोल गर्दै टोलीलाई हारबाट जोगाए। ब्वाइज युनियन यसअघि पहिलो खेलमा झम्सीखेल युथ क्लबसँग १–० ले पराजित भएको थियो। 

लिगमा बिहीबार पनि दुई खेल हुनेछन्। पहिलो खेल पुलचोक स्पोट्स क्लब र मध्यपुर युथ एसोसिएसन तथा दोस्रो खेल रानी पोखरी कर्नर टिम (आरसिटी) र श्री कुमारीबीच हुनेछन्।

प्रकाशित: २ फाल्गुन २०७५ ०२:३७ बिहीबार

सहिद_स्मारक_‘बी’_डिभिजन_लिग ब्वाइज_युनियन सातदोबाटो_क्लब बराबरी