खेल

धनगढी प्रिमियर लिगको उद्घाटन

धनगढी - रुस्लान धनगढी प्रिमियर लिग प्रतियोगिताको तेस्रो संस्करणको औपाचिरक रूपमा शनिबार उद्घाटन गरिएको छ। वर्षाका कारण दुई दिनपछि खेल सारिए पनि पूर्वनिर्धारित मितिमा नै शनिबार एक समारोहबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले म्याच रेफ्री मोहम्मद सफिकलाई बल र ब्याट हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन्।

धनगढीको एक होटलमा औपचारिक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरिए पनि वर्षाका कारण मैदान हिलाम्मे भएकाले खेलहरू भने सोमबारदेखि फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। खेल दुई दिन सारिएपछि खेलतालिका पनि बदलिएको छ। प्रत्येक दिन दुई खेल हुनेछन्।  सोमबार बिहान ९ बजे पहिलो खेल धनगढी स्टार्स र काठमाडौं गोल्डेन्सबीच हुनेछ भने दोस्रो खेलमा रूपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड भिड्नेछन्। उपाधिविजेता टोलीले ट्रफीसहित नगद ३० लाख रुपैयाँ पुरस्कार पाउनेछ। यो पुरस्कार राशि देशभरमै क्रिकेट प्रतियोगितामा सबैभन्दा बढी हो। यसै गरी उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा ‘मोस्ट भ्यालुएबल’ घोषित हुने खेलाडीका लागि सुनको जुत्ता पुरस्कार राखिएको छ।

उद्घाटन समारोहमा शनिबार  क्रिकेटमा महŒवपूर्ण योगदान पु-याएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाल र प्रशिक्षक सुनोज भट्टराईलाई धनगढी क्रिकेट एकेडेमीले जनही  १ लाख रुपियाँसहित सम्मान गरेको छ। एकेडेमीले अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’ र भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ बाट सम्मानित गरेको हो। दुवै जनालाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मानित गरे। सम्मानित भट्टराई नेपालका पहिला आधिकारिक प्रशिक्षक हुन्। भट्टराई सन् १९९६ मा मलेसियामा भएको एसिसी ट्रफीमा नेपाली टोलीको प्रशिक्षक भएर गएका थिए। पुरस्कार लिँदै उनले डिपिएलले गरेको सम्मानबाट आफूलाई धेरै खुसी लागेको बताए। पुरस्कार लिँदै पूर्वकप्तान अग्रवालले आफूले पाएको एक लाख रुपैयाँ फाप्ला क्रिकेट मैदान निर्माणका लागि धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीलाई दिए।

फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता
डीपीएलको उद्घाटनमा मुख्यमन्त्री भट्टले धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने,‘निजी क्षेत्र र सरकारको साझेदारीमा यसलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइनेछ।’ यो मैदान बनाउन करिब ३ अर्ब रकम लाग्ने उनले बताए। फाप्ला क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकारले यस वर्ष ५ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए। कार्यक्रममा डिपिएल गुडविल दूत विश्व चर्चित दक्षिण अफ्रिकी खेलाडी जोन्टी रोड्सले क्रिकेटको राम्रो माहोल देखेर उत्साहित भएको बताए। ‘नेपालमा धेरै युवा खेलाडी छन्, उनीहरूको खेल हेर्न म उत्साहित छु,’उनले भने।  नेपालले क्रिकेटमा निकै राम्रो गरिरहेको उनको भनाइ थियोे। कार्यक्रममा रोड्सले बल र ब्याटमा हस्ताक्षर गरेका छन्। उक्त बल र ब्याट डिपिएलको आगामी संस्करणमा अक्सनमा राखिने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए।
नोट तस्विर पनि छ

 

प्रकाशित: २७ माघ २०७५ ०४:०७ आइतबार

रुस्लान_धनगढी_प्रिमियर_लिग उद्घाटन