खेल

दिवाना र सुशीला क्वार्टरफाइनलमा

काठमाडौं – नेपाल पुलिस क्लबकी दिवाना सेर्मा र प्रदेश–५ का सुशीला थापा तेस्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्।

वसन्तपुर डबलीमा मंगलबार पहिलो दिन महिला ४६–४८ केजी तौलसमूहमा दिवानाले गण्डकी प्रदेशकी आकृति गुरुङलाई पहिलो राउन्डमै पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाइन्। सोही तौलसमूहमा प्रदेश–५ कि सुशीलाले क्वार्टरफाइनलको यात्रा तय गर्न प्रदेश–२ की सपना गुरुङलाई हराइन्।

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा भएको प्रतियोगिताको पुरुष ४९ केजी समूहमा त्रिभुवन आर्मी क्लबका सुशील थापा र प्रदेश–२ का पवन श्रेष्ठले पनि क्वार्टरफाइनलमा स्थान बनाए। आर्मीका सुशीलले गण्डकी प्रदेशका सुरज गुरुङलाई अंकका आधारमा पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरे। सोही तौलमा पवनले प्रदेश–१ का धर्मेन्द्र राईलाई अंककै आधारमा पराजित गरे।

पुरुष ५६ केजी तौलसमूहमा प्रदेश–१ का सुरेन्द्र राईले गण्डकी प्रदेशका दुथबहादुर परियारलाई पहिलो राउन्डमा नै पाखा लगाए। पुरुष ६० केजी तौलसमूहमा प्रदेश–३ का सनिल शाही र प्रदेश–७ का भारत चन्दले क्वार्टरफाइनल पक्का गरे।

सनिलले प्रदेश–६ का सागर श्रेष्ठलाई पहिलो राउन्डमा हराए भने भरतले प्रदेश–१ का तोबिन प्रधानलाई पराजित गरे। दिनको अन्तिम खेलमा पुरुष ६४ केजीतर्फ प्रदेश–२ का किशोर शर्माले प्रदेश–७ का विक्रम चौधरीलाई हराए। सबै विजेता खेलाडीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।

त्यसअघि उद्घाटन समारोहमा बक्सिङका पूर्वखेलाडी एवं प्रशिक्षक सुरेश आलेमगरलाई १ लाख १ हजार नगदसहिद सम्मान गरियो। बक्सिङका भीष्मपितामह उपमा पाएका आलेमगरलाई गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले प्रशंसापत्रसहित सम्मान गरे। माघ २६ सम्म चल्ने प्रतियोगितामा सात प्रदेशबाट छनोट भएका उत्कृष्ट खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित: २३ माघ २०७५ ००:२२ बुधबार

नेपाल_पुलिस_क्लब दिवाना_सेर्मा प्रदेश_नम्बर–५ सुशीला_थापा गणेशमान_राष्ट्रिय_बक्सिङ_प्रतियोगिता